काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका ८५ जना नवदीक्षित चिकित्सकलाई बिहीबार प्रधान सेनापति अशोकराज सिग्देलले प्रमाणपत्र वितरण गरेका छन् । शैक्षिक सत्र २०७६/७७ देखि सञ्चालन भएको उक्त ब्याचका चिकित्सकहरूलाई संस्थानद्वारा आयोजित एक विशेष समारोहका बिच प्रमाणपत्र प्रदान गरिएको हो।
समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा सदा झैँ मर्यादित र नैतिक धरातलमा रहनुपर्ने बताए । उनले समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित भई कार्य गर्न सुझाव दिए । सम्बोधनका क्रममा उनले दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे। ‘स्वास्थ्य सेवा एक पवित्र पेसा हो,’ उनले थपे, ‘त्यसैले सधैँ उच्च नैतिकताका साथ जनताको सेवामा खटिनुपर्छ।’
संस्थानका कार्यकारी निर्देशक प्रा.स.र.डा. भैरव कुमार हमालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा रथीवृन्द, प्राध्यापक, प्राचार्य, सैनिक अधिकृत, कर्मचारी तथा नवदीक्षित चिकित्सकका परिवारजनको उपस्थिति थियो।
नेपाली सेनाले स्वास्थ्य शिक्षामार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने उद्देश्यका साथ २०६८ सालमा यस संस्थानको स्थापना गरेको थियो। संस्थानबाट हालसम्म ९४४ जना चिकित्सकहरू दीक्षित भइसकेका छन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।