- बुद्ध एयरले अत्याधुनिक एटीआर ७२-६०० सिरिजको विमान भित्र्याउँदै नेपाली हवाई सेवामा नयाँ प्राविधिक अध्यायको सुरुवात गरेको छ।
- नयाँ विमानमा रहेको आरएनपी-एआर प्रविधिले कम भिजिबिलिटीमा समेत सुरक्षित अवतरण सम्भव बनाउने भएकाले पोखरा लगायतका विमानस्थलमा उडान विश्वसनीयता उल्लेख्य रूपमा बढ्नेछ।
- यस प्रविधिको सफल कार्यान्वयनले पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि ढोका खोल्ने र बुद्ध एयरको दीर्घकालीन विस्तार योजनालाई टेवा पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौँ — आन्तरिक उडानको पहुँच र दैनिक उडान सङ्ख्याका आधारमा देशकै अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो बेडामा नयाँ पुस्ताको अत्याधुनिक एटीआर ७२-६०० सिरिजको विमान थप गर्दै नेपाली हवाई सेवामा नयाँ प्राविधिक अध्यायको सुरुवात गरेको छ।
बिहीबार फ्रान्सको टुलुजबाट उडान भरेको ‘नाइनएन-एओएस’ कल साइनयुक्त उक्त विमान इजिप्टको कायरो र ओमानको मस्कट हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बिहान अवतरण भएको हो ।
क्याप्टेन ओलिभर मोन्थुएल र क्याप्टेन समित लाछकारले ‘फेरी उडान’ गरेर ल्याएको यस विमानलाई आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रियाहरू पूरा गरी शीघ्र व्यावसायिक उडानमा ल्याउने तयारी गरिएको छ ।
झन्डै डेढ अर्ब रुपैयाँको लागतमा ब्राजिलको एक निजी वायुसेवासँग खरिद गरिएको यो विमान थपिएसँगै बुद्ध एयरको कुल विमान सङ्ख्या १७ पुगेको छ, जसले कम्पनीको दैनिक १४० भन्दा बढी उडान तथा मर्मत तालिकालाई अझ सुदृढ र भरपर्दो बनाउनेछ।
नेपालको उड्डयन क्षेत्रमा भित्र्याइएको यो ६०० सिरिज साविकका ४२ र ७२-५०० सिरिजभन्दा प्राविधिक र सुरक्षाका दृष्टिले निकै अत्याधुनिक मानिन्छ । टेलस कम्पनीद्वारा निर्मित पूर्ण डिजिटल ‘ग्लास ककपिट’ जडान गरिएको यस विमानमा ५ वटा मल्टिफंक्शनल एलसीडी स्क्रिन, डिजिटल फ्लाइट म्यानेजमेन्ट र स्वचालित सुरक्षा प्रणाली समावेश छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।