नेपालकै पहिलो आधुनिक सवारी सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको छ। लामो प्रतीक्षापछि खुलेको यो सुरुङमार्गले काठमाडौं प्रवेश र बाहिरिने यात्रालाई सहज बनाउँदै यात्रा समय करिब ३० मिनेटसम्म घटाउने अपेक्षा
धादिङको सिस्नेखोलाबाट सुरु भएर काठमाडौंको नागढुंगामा जोडिने यो सुरुङमार्गले नागढुंगा–नौबिसे सडकखण्डमा हुने लामो जाम, घुम्ती सडकको जोखिम र यात्राको कठिनाइ कम गर्ने विश्वास गरिएको छ। सुरुङमार्ग प्रयोग गर्दा काठमाडौं भित्रिने क्रममा करिब ३३ मिनेट र बाहिरिने क्रममा करिब २३ मिनेटसम्म समय बचत हुने अनुमान गरिएको छ।
यो आयोजनाअन्तर्गत मुख्य सुरुङ करिब २.६८ किलोमिटर लामो रहेको छ भने उद्धार सुरुङ पनि निर्माण गरिएको छ। सुरुङमार्गमा आधुनिक सुरक्षा प्रणाली, निगरानी उपकरण, आपत्कालीन व्यवस्थापन प्रणाली र आवश्यक पूर्वाधार जडान गरिएको छ।
जापानको सहयोगमा निर्माण भएको यो परियोजनाको निर्माण कार्य जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरेको हो। निर्माण सुरु भएको करिब सात वर्षपछि यो आयोजना सञ्चालनमा आएको हो।
सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा हुने सवारी चाप घट्ने, इन्धन खपत कम हुने, ढुवानी सहज हुने तथा सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ। पूर्वाधार विकासको क्षेत्रमा यो आयोजना नेपालका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
