काठमाडौँ । एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्दै पहुँच र चिनजानका आधारमा मात्र ग्यास सिलिन्डर बिक्री–वितरण भइरहेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरी निगरानी सुरु गरेको छ ।
पहुँचका आधारमा ग्यास वितरण गर्ने, सिलिन्डर लुकाउने वा भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने डिपो, पसल, फर्म र कम्पनीमाथि कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा काठमाडौँ जिल्लाभित्र विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने व्यवसायीहरूले उद्योग वा डिलरबाट ग्यास ल्याई लुकाइछिपाई आफू निकटका व्यक्ति, होटल, व्यवसायी वा सीमित ग्राहकलाई मात्र बिक्री गर्ने गरेको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।
प्रशासनले यस्ता गतिविधिमा सङ्लग्न डिपो, पसल, फर्म तथा कम्पनीमाथि जिल्ला प्रशासन कार्यालय र अन्य अधिकारप्राप्त निकायबाट नियमित अनुगमन भइरहेको जनाएको छ ।
अनुगमनलाई प्रभावकारी बनाउन सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरी सूक्ष्म निगरानी र प्रतिवेदन संकलनको व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा पहुँच र चिनजानका आधारमा ग्यास बिक्री–वितरण गर्ने, सिलिन्डर लुकाएर राख्ने वा अन्य कानुनविपरीतका गतिविधिमा संलग्न पाइएमा सम्बन्धित व्यक्ति तथा व्यवसायीलाई प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गरिने र लुकाइराखिएका ग्यास सिलिन्डरसमेत जफत गरिने चेतावनी दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले ग्यासको निष्पक्ष र सहज वितरण सुनिश्चित गर्न सबै व्यवसायीलाई कानुनबमोजिम मात्रै बिक्री–वितरण गर्न आग्रह गरेको छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।