काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार साँझ फेसबुकमा एउटा स्टाटस लेखे र भने- ‘नआत्तिनुहोस्।’
नआत्तिन उनले कसलाई भने त्यो प्रष्ट छैन। तर शुक्रबार दिउँसो बसेको संसद् बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकारको आलोचना गरेपछि उनले नआत्तिन भनेको हुन सक्ने अनुमान गर्न गाह्रो छैन।शुक्रबारको संसद् बैठकमा रास्वपाका सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहेको तर ढंग नपुगेको भन्दै आलोचना गरेका थिए। ‘अहिलेको कुरामा इन्टिग्रेटीमा प्रश्न छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर कताकता ढंग नपुगेको हो कि भन्ने चाहीँ लाग्छ। त्यो स्वीकार्नुपर्छ’, झाले भनेका थिए।शुक्रबारकै संसद् बैठकमा उस्तै चर्को गरी सास्वपाकै सांसद रमेश प्रसाईंले पनि सरकारको आलोचना गरेका थिए। हाल नागरिकले ग्यास नपाएको विषयमा सांसद प्रसाईंले प्रधानमन्त्री र मन्त्रीका घरमा ग्यास अभाव छ कि छैन भन्दै प्रश्न पनि गरेका थिए।
‘म कहिलेकाहीँ कन्फ्युज हुन्छु। कसलाई के भनौँ? मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा ‘नो लाइन’, रास्वपाको पालामा ‘ओन्ली अनलाइन’ भनेर आफैँले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ।’ उनले भनेका थिए।यस्तै सांसद रविन्द्र पटेलले पनि ग्यास अभावको विषयमा सरकारको गैरजिम्मेवारी दर्शाइ रहेको जनाएका थिए भने उनले मल उपलब्ध गराउन नसकेको भन्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको राजीनामा नै मागेका थिए।
त्यसपछि प्रधानमन्त्री शाहले शुक्रबार साँझ नै नआत्तिन भन्दै स्टाटस लेखेनन् मात्र उनले एक्लै हिड्नु परेको र सत्तारुढ पार्टीबाटै सहयोग नभएको संकेतसहितको स्टाटस लेखे।‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन’, शाहले लेखेका थिए।उनको स्टाटस यतिमात्र होइन फेरि आइतबार बिहान पनि केही हुँदैछ भन्ने सन्देशसहितको अर्को स्टाटस आयो। जसमा हेटौडा कपडा उद्योगदेखि औषधि लिमिटेडसम्म देखिने गरी काम भएको जानकारी गराए।
‘इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्’, शाहले भनेका थिए।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।