दाङ- सामान्य परिवार । ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्ने परिवार । परिवारको आम्दानीको मुख्य स्रोत नै मजदुरी हो ।तर, श्रीमती गम्भीर बिरामी भएपछि लमही नगरपालिका–६ छुट्टकी महरवाका इन्द्रजीत चौधरी यतिबेला निकै चिन्तित छन् । ३१ वर्षीया श्रीमती अनिता चौधरी लामो समयदेखि बिरामी छिन् ।
सुरुमा ‘बाथ रोग’को समस्या देखिएपछि उपचार गराउँदै आएकप् अनिताको स्वास्थ्य अवस्था पछिल्लो समय झन् जटिल बन्दै गएको छ । रोग बढ्दै गएपछि अहिले उनकोे टाउकोमा समेत गम्भीर असर परेको परिवारले जनाएको छ । अनिताको उपचारका लागि परिवारले अहिलेसम्म झण्डै चार लाख रुपैयाँ खर्च गरिसकेको छ ।आर्थिक अवस्था कमजोर रहेका इन्द्रजीतले मजदुरी गरेर कमाएको रकम उपचारमै खर्च गरेका छन् । आफन्त तथा चिनजानका व्यक्तिबाट समेत सहयोग जुटाएर उपचार गराउँदै आएका उनिसँग अब थप उपचारका लागि अस्पताल लैजाने गाडी भाडासमेत छैन । अनिताको उपचार काठमाडौंस्थित शिक्षण अस्पतालमा भइरहेको छ ।
चिकित्सकले थप उपचार आवश्यक रहेको बताएपछि परिवार थप समस्यामा परेको छ । उपचारका लागि काठमाडौं लैजानुपर्ने भए पनि आर्थिक अभावका कारण तत्कालै गाडीको व्यवस्था गर्नसमेत कठिन भएको इन्द्रजीतले बताए । घरमा १५ महिनाको शिशुसमेत छ ।सानो बच्चाको हेरचाहसँगै बिरामी श्रीमतीको उपचार गर्नुपर्ने भएपछि इन्द्रजीतलाई परिवार धान्न झन् कठिन भएको छ । नियमित आम्दानीको स्रोत नभएका कारण उपचार खर्च जुटाउन परिवार अहिले सडकमा सहयोग माग्दै हिँड्न बाध्य भएको छ ।
‘मजदुरी गरेर परिवार पाल्दै आएको हुँ । श्रीमती बिरामी भएपछि भएको सबै पैसा उपचारमा सकियो,’ इन्द्रजीतले भने, ‘अहिले थप उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था छ । तर गाडी भाडा तिर्नेसमेत पैसा छैन ।’आर्थिक अभावकै कारण श्रीमतीको उपचार रोक्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले सहयोगका लागि सबैसँग अपिल गरेका छन् । अनिताको जीवनरक्षाका लागि उपचारमा सहयोग गरिदिन उनले स्थानीयवासी, संघसंस्था, व्यवसायी तथा सहयोगी मन भएका व्यक्तिहरूलाई आग्रह गरेका छन् ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।