मोरङ – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिमा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउन १० गते भएको घटनासँगै त्यसपछि भएका आगजनी, तोडफोडमा संलग्नहरूलाई नियन्त्रणमा लिएको हो।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले सो घटनायता देखिएको परिस्थिति र त्यसमा संलग्न भएको आशंकामा केही ब्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए।उनले भने, ‘हामीले शनिबारबाट त्यस घटना र त्यसपछिको परिस्थितिमा संलग्न केही ब्यक्तिलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ। उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ।’
त्यसयता हाल घटना भएको देवानगञ्ज गाउँपालिका र कप्तानगञ्जको अवस्था शान्त रहेको उनको भनाइ छ। प्रहरी कार्यालयका अनुसार हाल अनुसन्धानका लागि ४ देखि ६ जनासम्मलाई नियन्त्रणमा लिएको हो।यद्यपि, आइतबार बिहान देवानगञ्ज गाउँपालिका क्षेत्र र कप्तानगञ्जमा केही ब्यक्तिले केहीसमय प्रदर्शन गरेका थिए। कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताको शव परिवारले बुझेका छैनन। सरकारले आफूहरूको माग नसुनेको जनाउँदै पीडित परिवारले शव नबुझेपछि, त्यसको प्रभाव कप्तानगञ्जमा देखिएको स्थानीयको भनाइ छ। मेहताको उपचारका क्रममा काठमाडौस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो।
यसैक्रममा शनिबार विहान पनि देवानगञ्ज गाउँपालिकासँग जोडिएको हरिनगर गाउँपालिकामा दोषीमाथि कार्वाहीको माग गर्दै केहीबेर सडकमा टेन्ट राखेर स्थानीयले प्रदर्शन गरेका थिए। गत साउन १० गते राति कप्तानगञ्जस्थित शिव मन्दिरनजिक केही युवा सोमबारे जल चढाउनका लागि सप्तकोशी जाने तयारीमा थिए।मन्दिरनजिक उनीहरूले डिजे भजन बजाएपछि अर्को समुदायको ब्यक्ति आएर भनाभन भएपछि उत्पन्न परिस्थितिमा गोली चलेको थियो। सो क्रममा दुई जनाको मृत्यु भएको छ। त्यसलगत्तै पाँच दिन इनरुवा नगरपालिकासहित दक्षिण क्षेत्र अशान्त बनेको थियो।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।