रोजगारीको खोजीमा आफ्नो मातृभूमि छोड्न बाध्य लाखौँ नेपाली युवा र उनीहरूले पछाडि छाडेर जाने परिवारको कथा बोकेको गायक हेमन्त रानाको नयाँ गीत ‘सुन कुरा’ सार्वजनिक भएको छ ।
रानाकै शब्द, संगीत र स्वरमा रहेको गीत विदेशिन बाध्य युवाप्रति समर्पित छ । गाउँहरू क्रमशः रित्तिँदै जाँदा वृद्ध आमाबुबा एक्लै जीवन बिताउन बाध्य भइरहेको अवस्था, बसाइँसराइले निम्त्याएको भावनात्मक तथा सामाजिक असर र बढ्दो वातावरणीय संकटलाई गीतले संवेदनशील ढंगले उठाएको छ ।गीतलाई विदेशिएका नेपाली युवा र उनीहरूले पछाडि छाडेर जाने परिवारप्रति समर्पणका रूपमा प्रस्तुत गरिएको छ । यसले विदेशिने एउटा व्यक्तिको कथा मात्र नभई त्यसको असर परिवार, गाउँ, समाज र वातावरणसम्म कसरी पुगिरहेको छ भन्ने प्रश्न उठाउँछ ।
‘गीत–संगीत, कविता, कथा, चलचित्र लगायत समग्र कलाले कुनै न कुनै रूपमा समाजको प्रतिनिधित्व गरेको हुन्छ । कलामा कहीँ न कहीँ समाज बोलेको हुन्छ ।गीतबारे हेमन्त राना भन्छन्, ‘आजभोलि गाउँघरमा वृद्धवृद्धा, महिला र बालबालिका बाहेक तन्नेरी पुस्ता खासै देखिँदैन । कुनै–कुनै जिल्लाका गाउँहरू त लगभग रित्तिँदै गएका छन् । यही सामाजिक यथार्थको एउटा सानो कथा बोकेर म यो गीतमार्फत तपाईंहरू सामु आएको छु । आशा छ, मेरो यो सानो प्रयासलाई र गीतमा समेटिएको हाम्रो समाजको कथा अनि भावनालाई तपाईंहरूले महसुस गर्नुहुनेछ ।’
गीतमा कोबिद बज्रको म्युजिक प्रोडक्सन तथा मिक्सिङ– मास्टरिङ रहेको छ । बिकेश बज्रको स्ट्रिङ एरेन्जमेन्ट तथा रेकर्डिङ र ड्रम्स, निशाद श्रेष्ठको चेलो र रोमन बुढाथोकीको भायोलिन रहेको छ ।गीतको भिडियोमा विजय बराल, रक्षा थापा र मणि के. राईले अभिनय गरेका छन् । हेमराज बीसीको निर्देशनमा बनेको भिडियोमा शैलेन्द्र डी. कार्कीको छायांकन र निमेश श्रेष्ठको सम्पादन रहेको छ ।
सामाजिक विषयवस्तुलाई गीतमार्फत प्रस्तुत गर्दै आएका हेमन्तका लागि ‘सुन कुरा’ नयाँ विषय भने होइन । यसअघि उनको चर्चित गीत ‘सुन साइँली’ले पनि वैदेशिक रोजगारीका लागि विदेशिएको नेपाली युवा र उसले घरमा छाडेर गएको परिवारको पीडालाई कथाका रूपमा प्रस्तुत गरेको थियो । उक्त गीतले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको भावनात्मक प्रभावलाई निकै बलियोसँग उठाएको थियो ।
‘सुन कुरा’मा भने रानाले त्यही सामाजिक यथार्थलाई अर्को कोणबाट हेरेका छन्- युवाहरू विदेशिएपछि खाली हुँदै गएका गाउँ, एक्लिँदै गएका अभिभावक, बदलिँदो सामाजिक संरचना र त्यससँगै प्रकृतिमा परिरहेको असर । यसरी हेर्दा ‘सुन कुरा’ हेमन्त रानाको सामाजिक सरोकार बोकेका गीतहरूको निरन्तरता पनि बनेको छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।