काठमाडौँ- नेपालका शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको विकासका लागि भारत सरकारले रु ८० करोड ३० लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
परियोजना सञ्चालनसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधि र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूप्रति मङ्गलबार हस्ताक्षर भएको छ।
सम्झौताअनुसार प्राप्त रकम विभिन्न प्रदेशका प्राथमिकता प्राप्त पूर्वाधार निर्माणमा खर्च गरिनेछ। जसअन्तर्गत कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘डिजिटलाइजेसन’ गरिनेछ भने भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुनेछ।यस्तै, मोरङको बेलबारी बहुमुखी क्याम्पसको भवन र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिने योजना रहेको छ।
त्यस्तै, बागमती प्रदेशको धादिङस्थित ज्वालामुखी गाउँपालिकामा नगदे कृषि तथा पशुपन्छी केन्द्र, कर्णाली प्रदेशको दैलेखस्थित डुङ्गेश्वर गाउँपालिकामा १० शय्याको अस्पताल तथा हुम्लाको सर्केगाड गाउँपालिकामा कृषि प्रवर्द्धन केन्द्र निर्माण गरिनेछ।
गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकामा कोल्ड स्टोर निर्माण गर्ने सहमति भएको छ। यी सबै विकास परियोजनाहरू स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूमार्फत कार्यान्वयन गरिनेछ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।