मोरङ – पछिल्लो समय कोशी प्रदेशमा लागुऔषधको कारोबारमा उल्लेख्य वृद्धि देखिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
तीन वर्षको तथ्यांक सार्वजनिक गर्दै कोशी प्रदेश प्रहरीले लागुऔषध खैरो हेरोइनको ओसारपोसार उल्लेख्य रुपमा वृद्धि भएको जनाएको हो।मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रदेश प्रहरी प्रमुख शेखर खनालले लागुऔषध नियन्त्रण, सीमावर्ती अपराध र अन्तरदेशीय अपराध नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिएको बताए।
उनले पछिल्लो समय युवापुस्तादेखि वृद्धसम्म साइबर तथा डिजिटल अपराधमा संलग्न देखिएको हुँदा त्यसको नियन्त्रणमा प्रहरीले काम गरिरहेको उल्लेख गरे। प्रहरीको सेवा प्रवाह नागरिकमैत्री बनाउन कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।उनले ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन काम गरिरहेको बताए।
कार्यालयका अनुसार तीन वर्षअघि ३ किलो खैरो हेरोइन बरामद भएकोमा आर्थिक वर्ष २०८१/८२ मा ५ किलो र गत आर्थिक वर्ष २०८२/८३ मा १० किलो बरामद भएको छ।कार्यालयका अनुसार विगतमा लागुऔषध ट्याब्लेटदेखि सुईको प्रयोग हुँदै आएकोमा पछिल्लो समय खैरो हेरोइन प्रयोगकर्ताको संख्या बढ्दै गएको देखिएको छ। तीन वर्षअघि प्रहरीले प्रदेशका विभिन्न स्थानबाट १० हजार एम्पुल लागुऔषध बरामद गरेको थियो। तर, त्यसपछि गएको दुई वर्षअघि उक्त संख्या घटेर ५ हजार एम्पुलमा सीमित भएको थियो।
कार्यालयले गत वर्ष २७ हजार किलोभन्दा बढी लागुऔषध गाजा बरामद गरी नष्ट गरेको जनाएको छ। त्यस्तै, लागुऔषध मुद्दामा गत वर्ष २ हजार ७ जना प्रतिवादीहरू पक्राउ परेका थिए।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।