बुटवल । रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेसँगै लामो समयदेखि बन्द रहेको कारखाना पुनः सञ्चालन हुने आशामा स्थानीय उत्साहित भएका छन् ।कारखानाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (ड्यु डिलिजेन्स अडिट) भइरहेको छ । यही क्रममा बुटवल धागो कारखाना लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै उद्योगसँग सम्बन्धित दाबी तथा हरहिसाब भए पेस गर्न आग्रह गरेको छ ।अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णयबमोजिम लिनदिन बाँकी रहेको हरहिसाब भए सूचना प्रकाशित भएको २१ दिनभित्र बुटवल–१० स्थित उद्योग परिसरमा दाबी पेस गर्न सूचनामार्फत भनिएको छ । त्यस्तै, उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका व्यक्ति तथा निकायलाई समेत तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ ।
तोकिएको २१ दिनभित्र कुनै दाबी नपरेमा प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने र त्यस अवधिपछि उद्योगमाथि कुनै पनि किसिमको दाबी नलाग्ने कारखानाले प्रस्ट पारेको छ ।
सरकार निकटका केही व्यवसायीले भारतीय प्राविधिकलाई समेत ल्याएर कारखानामा रहेका मेसिन सञ्चालन गर्न सकिने वा नसकिने, त्यसका लागि आवश्यक पर्ने अनुमानित लागत तथा बजार सम्भावनाका विषयमा छुट्टै अध्ययन गरिरहेको बताइएको छ ।
बुटवल धागो कारखानाका निमित्त प्रमुख तथा प्राविधिक अधिकृत डोलराज शर्माले ड्यु डिलिजेन्स अडिट टोलीले प्रारम्भिक चरणदेखि नै कारखानाको अध्ययन गरिरहेको बताए ।
उनका अनुसार ड्यु डिलिजेन्स अडिट (डीडीए)को टोलीबाहेक अन्य उद्योगी तथा केही भारतीय प्राविधिकसमेत पछिल्लो समय कारखानाको अवस्था बुझ्न आउने गरेका छन् । सरकारले बुटवल धागो कारखाना सञ्चालनका लागि आन्तरिक तयारीस्वरूप प्रक्रिया अघि बढाएको उनले बताए ।
करिब दुई दशकदेखि बन्द रहेको कारखानामा सरकारले सम्पत्ति तथा दायित्व मूल्याङ्कनको प्रक्रिया अघि बढाएपछि स्थानीय तथा उद्योगी व्यवसायीमा कारखाना पुनः सञ्चालन हुने आशा पलाएको छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं केन्द्रीय सदस्य हरिप्रसाद आचार्यले धागो कारखानाका विषयमा पछिल्लो समय सरकारले देखाएको चासो र थालेको अध्ययनले सञ्चालन हुने आशा पलाएको बताए । उनले विगतमा जस्तो चल्ने प्रचारमात्र नभई जतिसक्दो छिटो सञ्चालन गर्ने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
बुटवलका उद्योगी तथा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश महासचिव शिव ज्ञवालीले पछिल्लो समय सरकारले कारखानाका विषयमा अघि बढाएका गतिविधिले सञ्चालनको सम्भावना बढाएको बताए । उनले उद्योग सञ्चालनमा आए बुटवलको आर्थिक गतिविधिमा स्वाभाविक रूपमा सकारात्मक प्रभाव पर्ने भएकाले कारखाना जतिसक्दो छिटो सञ्चालन गर्नुपर्ने धारणा राखे ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योग पुनः सञ्चालन भए रोजगारी सिर्जना हुनुका साथै कपास खेती, कपडा उद्योग र समग्र पश्चिम नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन सकिने बताए । उनका अनुसार कारखाना सञ्चालनमा आए बुटवलको औद्योगिक गतिविधि बढ्नुका साथै रोजगारी र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ । सम्पत्ति तथा दायित्वको वास्तविक अवस्था, मेसिनरीको अवस्था, पुनः सञ्चालनका लागि आवश्यक लगानी र बजार सम्भावनाबारे अध्ययनपछि सरकारले गर्ने निर्णयले बुटवल धागो कारखानाको भविष्य निर्धारण गर्नेछ ।
- बुटवल धागो कारखाना चलाउन मोडालिटी स्पष्ट गर्न उद्योगीको माग
सरकारले लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना सञ्चालनका लागि आन्तरिक तयारीस्वरूप प्रक्रिया अघि बढाएपछि स्थानीय उद्योगी–व्यवसायी उत्साहित भएका छन् । तर विगतमा जस्तै अध्ययन, अनुगमन र मूल्याङ्कनमै सीमित भएर कारखाना सञ्चालनको विषय अलपत्र नपार्न उनीहरूले सरकारलाई खबरदारी गरेका छन् ।
उद्योगी–व्यवसायीले कारखाना सञ्चालन गर्नुअघि कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषय स्पष्ट पार्नुपर्ने बताए । विगतमा विभिन्न सरकारले कारखानाको अध्ययन तथा अनुगमन गरे पनि सञ्चालनको ठोस योजना नबन्दा उद्योग पुनः सञ्चालन हुन सकेको थिएन ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं केन्द्रीय सदस्य हरिप्रसाद अर्यालले धागो कारखाना सञ्चालनको विषय राजनीतिक नभई आर्थिक विकाससँग जोडिएको प्रस्ट पारे । कारखाना सञ्चालन गर्दा बुटवल क्षेत्रको आर्थिक विकाससँगै त्यससँग जोडिने कपास उत्पादनलगायतका अन्य क्षेत्रलाई समेत समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘सरकारले अहिले कुन मोडालिटीबाट कारखाना सञ्चालन गर्ने हो, त्यो पहिले स्पष्ट गर्नुपर्छ,’ अर्यालले भने । नयाँ प्रविधि र बजारको अवस्थाबारे विस्तृत अध्ययन गरेरमात्रै उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । बजारको अवस्था नबुझी सरकारले दिने अनुदानमा मात्रै भर परेर उद्योग सञ्चालन गर्दा विगतकै अवस्था दोहोरिन सक्ने उनले प्रस्ट पारे ।
बुटवलका उद्योगी तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका महासचिव शिव ज्ञवालीले सरकारले आफैँ उद्योग सञ्चालन गर्नेभन्दा विश्वका सफल अभ्यासअनुसार सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडालिटीमा जानुपर्ने बताए ।
उनले राजनीतिक नियुक्तिका आधारमा अध्यक्ष वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने र पुनः पुरानै ढाँचामा उद्योगलाई घाटामा लैजाने अवस्था आउन नहुने बताए । ‘सीईओलाई स्पष्ट लक्ष्य दिएर नियुक्त गर्नुपर्छ र उसको कार्यसम्पादनको अनुगमन सञ्चालक समितिले गर्नुपर्छ,’ उनले भने ।
विगतमा नेपाली धागोको राम्रो बजार र उत्पादनबाट आम्दानी हुँदाहुँदै पनि राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरीका कारण उद्योग बन्द भएको भन्दै ज्ञवालीले नयाँ व्यवस्थापनमा त्यस्ता कमजोरी दोहोरिन नहुने बताए ।
_VnzKDQn1kP.jpg)
बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं बुटवल धागो कारखानामा स्थानीयको तर्फबाट सेयर लगानी गरेका जीवनप्रसाद बोझाले कारखानामा रहेको भौतिक पूर्वाधार अझै उपयोग गर्न सकिने अवस्थामा रहेको बताए । चीनबाट ल्याइएका मेसिन तथा उपकरणमध्ये केही मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने र आवश्यक थप उपकरण नयाँ प्रविधिअनुसार ल्याउन सकिने उनको भनाइ छ । उनले सरकार आफैँले प्रत्यक्ष सञ्चालन गर्नुभन्दा राजनीतिक हस्तक्षेपबाट मुक्त र दक्ष सीईओ नियुक्त गरेर उद्योग सञ्चालन गर्न सकिने बताए ।
उनले बाँकेको कपास उद्योग, बुटवल धागो कारखाना र हेटौँडा कपडा उद्योगलाई एउटै औद्योगिक शृङ्खलाका रूपमा विकास गर्नुपर्ने बताए । त्यसबाट नेपाली सेना, नेपाल प्रहरी तथा सरकारी कर्मचारीका पोसाक उत्पादन गर्न सकिने र स्वदेशी बजारसँगै भारतलगायत अन्य मुलुकमा समेत निर्यातको सम्भावना छ ।
बुटवल औद्योगिक क्षेत्रमा रहेको कारखानामा केही मर्मत गर्नुपर्ने भए पनि पर्याप्त भौतिक पूर्वाधार रहेको उद्योगीहरूको भनाइ छ । बुटवल धागो कारखानाका निमित्त प्रमुख डोलराज शर्माले सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न भएपछि उद्योग सञ्चालनको मोडालिटी तय हुने बताए । नयाँ प्रविधिसहित आवश्यक उपकरण जडान गर्न सके कारखाना पुनः सञ्चालन गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।
२०३९ चैत ३ गते निर्माण सुरु भएको बुटवल धागो कारखानाले २०४८ वैशाखदेखि व्यावसायिक उत्पादन थालेको थियो । व्यवस्थापनको कमजोरी, राजनीतिक हस्तक्षेप र कर्मचारी विवादलगायतका कारण २०६४ फागुनदेखि उद्योग बन्द छ । २०६६ सालमा ४०२ कर्मचारीलाई सेवा–सुविधासहित बिदा गरेपछि उद्योग पूर्ण रूपमा निष्क्रिय बनेको हो । हाल कारखानामा तीन कर्मचारी र दुई सुरक्षाकर्मी मात्रै छन् ।
देशलाई कपडा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यसहित तत्कालीन राजा वीरेन्द्रको अवधारणामा स्थापना गरिएको कारखाना १४४ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसले बुटवल औद्योगिक क्षेत्रको कुल भूभागको करिब एक तिहाइ क्षेत्र ओगटेको छ ।
धागो उत्पादनका लागि आवश्यक औद्योगिक पूर्वाधार रहेको कारखानालाई पुनः सञ्चालन गर्ने हो भने अब अध्ययन र अनुगमनमै सीमित नभई स्पष्ट मोडालिटी, दक्ष व्यवस्थापन, बजार सुनिश्चितता, आधुनिक प्रविधि र राजनीतिक हस्तक्षेपमुक्त सञ्चालन प्रणाली तय गर्नुपर्ने उद्योगीहरूको जोड छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।