नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालहरूले १० प्रतिशत बेड छुट्याउनै पर्ने मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।
भदौ १ गतेदेखि कार्यान्वयन गर्ने गरी अघि बढेको नेपालगन्ज उपमहानगरपालिकाले आज पत्रकार भेटघाट गर्दै १५ शैयाभन्दा माथिका अस्पतालले उक्त मापदण्ड पालना नगरेमा दर्ता खारेजीसम्मको चेतावनी दिएको छ ।
नेपालगन्जमा १५ शैयाभन्दा माथिका २५ वटा अस्पताल रहेका छन् । ८ सय ४० बेड रहेका ती अस्पतालले ९४ वटा बेड लक्षित वर्गका लागि छुट्याउनुपर्नेछ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० (घ) ले विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालको कुल बेडको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको नगर ऐन, २०७९ को दफा २८ को उपदफा (१) ले समेत सो व्यवस्थालाई कागजमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न जोड दिएको छ ।
नेपालगन्जका मेयर प्रशान्त विष्टले आर्थिक अभावका कारण कोही बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्नका लागि मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्न थालिएको बताए ।लक्षित वर्गका बिरामी सरकारी अस्पतालमा लाइनमा बस्ने तर निजी अस्पतालमा निःशुल्क सेवा लिन नजाने गरेको पाइन्छ । मेयर विष्टले सरकारी तथा निजी अस्पतालमा यस विषयमा निरन्तर अनुगमन गर्ने बताए ।
पत्रकार भेटघाटमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम, प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, भेरी अस्पतालका मेसु डा. नवीन दर्नाललगायतको उपस्थिति थियो । बिरामीको सहजताका लागि नेपालगन्ज उपमहानगरपालिका र सम्बन्धित अस्पतालमा फोकल पर्सन तोकेर उनीहरूको मोबाइल नम्बर सार्वजनिक गरिएको छ । सेवा लिन सम्बन्धित वडाबाट सिफारिस लिएर आउनुपर्नेछ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।