काठमाडौं- राष्ट्रिय खेलकुद परिषदले पाँचौ पटक दशौं राष्ट्रिय खेलकुदको मिति तय गरेको छ।
तर पटक-पटक मिति तोकिंदै स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता यो पटक पनि तोकिएकै समयमा होलाकी नहोला भन्ने संसय भने कायम छ।
राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठले २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्दै छ। राखेपका अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षातमा बसेको परिषद्को बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद सँगै प्रथम राष्ट्रिय पारा खेलकुद पुस १५ गतेदेखि सन्चालन गर्ने पनि निर्णय गरेको छ।
यस्तै २०औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गरेको छ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुद सफल बनाउन सम्पूर्ण पक्ष एकताबद्ध भई लाग्न आग्रह गरेका थिए। बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणी पौडेल परिषद्का उपाध्यक्ष बिशाल श्रेष्ठलगायत प्रदेश खेलकुद परिषद्का सदस्य-सचिवहरु सहित परिषद्का बोर्ड सदस्यहरुको उपस्थिति थियो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को यो १२५औं बोर्ड बैठक हो। दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ। २०७९ कात्तिक–मंसिरमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनपछि हरेक २ वर्षमा हुनु पर्ने प्रतियोगिता करिब ४ वर्ष वित्न लाग्दा समेत हुन सकेको छैन्।
१०औं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो।पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन। त्यसपछि २०८१ चैत २३ देखि ३० सम्म हुने भनिएको थियो ।
तेस्रोपटक २०८२ जेठ ३ देखि १० हुँदै चौथोपटक गत फागुन १ देखि ७ चैतका लागि सर्यो। राजनीतिक रुपमा नेतृत्व नमिल्दा पटक-पटक विभिन्न बहानाबाजीमा प्रतियोगिता नहुने गरेको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।