दाङ– दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउन ओपिडी टिकट काउन्टर थप गरिएको छ।
प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बीमा सेवाग्राहीको संख्या बढ्दै गएपछि टिकट वितरणमा हुने भिडभाड तथा लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै थप एक काउन्टर सञ्चालनमा ल्याइएको हो।
यसअघि प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवाका लागि दुई वटा ओपिडी टिकट काउन्टर सञ्चालनमा रहेका थिए। सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न थप एक वटा काउन्टर वृद्धि गरिएपछि हाल तीन वटा ओपिडी टिकट काउन्टर सञ्चालनमा रहेका छन्। काउन्टर थपिएसँगै टिकट वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीले स्वास्थ्य बीमा सेवाका सेवाग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ओपीडी टिकट काउन्टर थप गरिएको जानकारी दिए।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।