बुटवल । नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ डुबानको जोखिममा परेको छ । केही दिनदेखि निरन्तर नदी कटान भइरहेकाले स्थानीयमा त्रास बढेको छ ।
सुस्ताका स्थानीय अगुवा बाबु खाँका अनुसार नदीको कटानले स्थानीयले निर्माण गरेको अस्थायी बाँधसमेत भत्किएपछि खेतमा पानी पसेको छ । नदीको बहाव बढेमा बस्तीका घरमा समेत पानी पस्ने जोखिम रहेको उनले बताए ।
सुस्ता गाउँपालिका–५ को थारू टोल नारायणीको बाढीका कारण जलमग्न भएको छ । सुस्ता–५ का वडासदस्य एवं सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले नदीको कटान रोक्न स्थानीयले बोराामा बालुवा भरेर नाइलनको डोरीले बाँधेर अस्थायी प्रयास गरिरहेको बताए ।
‘यसरी सामान्य प्रयासले नदी कटान रोक्न सकिँदैन,’ उनले भने, ‘सरकारले तत्काल नदी किनारमा पक्की संरचनासहित ठूलो बजेटमा काम नगरे सिंगो सुस्ता डुबानमा पर्न सक्छ ।’ उनले नदी नियन्त्रणका लागि उच्च प्रविधिसहितको तटबन्ध निर्माण र आवश्यक बजेट तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरे ।
यसअघि जेठ २९ गते नारायणी नदीमा १३२ मिटर तटबन्ध निर्माण गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोक लगाएपछि स्थानीय र भारतीय सुरक्षाकर्मीबिच विवादसमेत भएको थियो । तटबन्ध निर्माणका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन भए पनि भारतीय पक्षले काममा अवरोध गरेपछि स्थानीयले अस्थायी तटबन्ध निर्माण गरेका थिए ।
भरतपुरस्थित जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्रको समन्वयमा निर्माण गरिएको अस्थायी बाँध नदी कटानसँगै बग्न थालेपछि समस्या थपिएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले रातोपाटीलाई बताए ।प्रमुख जिल्ला अधिकारी नेपाल अहिले सुस्ताको स्थलगत अनुगमनमा छन् । उनले बाढी बस्तीमा पसेको अवस्थामा स्थानीयलाई कसरी सुरक्षित स्थानमा लैजाने र सुरक्षा व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।