ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौताअन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्त्वपूर्ण पहुँच दिइए पनि देशले आफ्नो प्राकृतिक स्रोतसाधनमाथिको नियन्त्रण र सार्वभौमसत्ता कायम राख्ने बताएकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको उक्त सम्झौताअन्तर्गत भेनेजुएलाको ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकाको बहुमत नियन्त्रण रहने बताइएको छ ।“एउटा कुरा स्पष्ट हुनुपर्छ–भेनेजुएलाले आफ्ना स्रोतसाधनमाथि स्वामित्व र सार्वभौमसत्ता कायम राख्छ”, रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै भनिन् ।

सम्झौताको उद्देश्य जमिनमुनि रहेका ‘निष्क्रिय’ तेल स्रोतलाई भेनेजुएलाका जनताको सामाजिक तथा आर्थिक कल्याणको स्रोतमा रूपान्तरण गर्नु रहेको उनले बताइन् ।

काराकासका अनुसार सम्झौताअन्तर्गत निजी क्षेत्रबाट करिब १०० अर्ब डलर लगानी भित्र्याइनेछ । विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाको तेल उद्योगलाई पुनर्जीवित गर्न उक्त लगानी प्रयोग गरिनेछ ।

तर सम्झौताको विस्तृत विवरण सार्वजनिक नगरिएकामा भेनेजुएलामा चिन्ता बढेको छ । सरकार समर्थकसहित सामाजिक सञ्जालका प्रयोगकर्ताले सार्वभौमसत्ता गुम्ने जोखिम, देशले पाउने लाभ र सम्झौताको राजनीतिक मूल्यबारे प्रश्न उठाएका छन् ।

“यसबाट कसलाई फाइदा हुन्छ–भेनेजुएलालाई कि संयुक्त राज्य अमेरिकालाई—हामीलाई थाहा छैन”, ६८ वर्षीय सुरक्षा गार्ड जिसस सालाजारले भने, “मलाई शङ्का छ, तर के हुन्छ भनेर पर्खनुपर्छ ।”

जनवरीमा अमेरिकी सेनाले लामो समयदेखि सत्तामा रहेका निकोलस मादुरोलाई सत्ताच्युत गरी नियन्त्रणमा लिएपछि भेनेजुएलाको सरकार ट्रम्प प्रशासनको तीव्र दबाबमा रहँदै आएको छ । वासिङ्टनले मादुरोकी उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम नेतृका रूपमा कायम रहन अनुमति दिएको थियो ।

भेनेजुएलाको सत्तारुढ दलले शनिबार राष्ट्रिय हितलाई प्राथमिकता दिने र लामो समयदेखिको आर्थिक प्रतिबन्ध तथा अन्य एकपक्षीय दबाबबाट उत्पन्न असर पार गर्न सहयोग गर्ने आर्थिक उपायलाई समर्थन गर्ने जनाएको छ ।

तेल उत्पादन बढे पनि चुनौती कायमै

रोड्रिगेजले भेनेजुएलाको खानी तथा पेट्रोलियम क्षेत्रलाई निजी पूँजी र विदेशी लगानीका लागि खुला गर्ने सुधार अघि बढाएकी छन् । यसैबीच, वासिङ्टनले मादुरो सरकारको पालामा भेनेजुएलाको तेल क्षेत्रमा लगाएका केही प्रतिबन्ध हटाएको छ ।

जनवरीदेखि जुलाईसम्म भेनेजुएलाको तेल उत्पादन २९ दशमलव आठ प्रतिशतले बढेर दैनिक १२ लाख ब्यारेल पुगेको बताइएको छ । यद्यपि यो उत्पादन करिब २५ वर्षअघिको स्तरभन्दा निकै कम हो ।

अमेरिकी सम्झौताले तेल उत्पादन बढाउने लक्ष्य राखेको भए पनि विश्लेषकहरूले त्यसका लागि समय लाग्ने बताएका छन् । काराकासस्थित उच्च अध्ययन प्रशासन संस्थानका प्राध्यापक ओस्वाल्डो फेलिजोलाका अनुसार उत्पादनमा उल्लेख्य वृद्धि हुन कम्तीमा तीनदेखि चार वर्ष लाग्न सक्छ ।

उनले लामो समयदेखि पर्याप्त लगानी आकर्षित गर्न नसकेको भेनेजुएलाको तेल उद्योगमा अमेरिकी लगानीलाई सकारात्मक कदमका रूपमा व्याख्या गरे । उनका अनुसार राज्य स्वामित्वको पेट्रोलियोस डे भेनेजुएला (पीडीभीएसए) सँग आवश्यक लगानी गर्ने पर्याप्त आर्थिक स्रोत छैन ।

भेनेजुएलाको अर्थतन्त्र सन् २०१४ देखि २०२१ सम्म करिब ८० प्रतिशतले सङ्कुचित भएको थियो । यसका कारण लाखौँ मानिस गरिबीमा धकेलिएका छन् ।

सरकारी कर्मचारी कार्लोस बाकोले नयाँ सम्झौताबाट तेल राजस्व बढ्ने आशा व्यक्त गरे पनि दैनिक जीवनमा त्यसको प्रभाव देखिन बाँकी रहेको बताए । रोड्रिगेजले सम्झौताबाट २०४ अर्ब डलरभन्दा बढी कर राजस्व प्राप्त हुने दाबी गरिन् ।

विश्लेषकहरूले भने पर्याप्त लगानी र उचित व्यवस्थापन भएमा सम्झौताले भेनेजुएलाको तेल उद्योग पुनर्जीवित गर्न र आर्थिक पुनरुत्थानलाई गति दिन सक्ने बताएका छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय