काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले रसुवामा दोस्रो चिकित्सकीय टोली खटाएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई निरन्तरता दिन ट्रमा सेन्टरले दोस्रो टोली खटाएको हो ।
नयाँ पठाइएको टोलीमा डा.सरोजकुमार गोहिवारको नेतृत्वमा मेडिकल अफिसरहरू डा.सितेश यादव र डा.राजीव खड्का तथा प्यारामेडिक (एचए) चन्दनकुमार यादव रहेका छन् । सो टोलीले रसुवा अस्पतालमा रहेर बाढीका घाइते तथा प्रभावित स्थानीयलाई आकस्मिक उपचार, शल्यक्रियालगायत आवश्यक स्वास्थ्य सेवा प्रदान गर्नेछ ।विपद्का बेला जिल्ला अस्पतालहरूमा बिरामीको चाप बढ्ने र जनशक्तिको अभाव हुन सक्ने भएकाले ट्रमा सेन्टरले निरन्तर रूपमा विशेषज्ञ टोली प्रभावित क्षेत्रमा खटाइरहेको अस्पतालका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिए ।
बाढी प्रभावितको उद्धार तथा उपचारका लागि सेन्टरले बाढी गएकै दिन नुवाकोटतर्फ टोली पठाएको थियो । सो टोली अहिले रसुवा पुगेर सेवा दिइरहेको अवस्थामा स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाउन एमडीजीपी डाक्टरको नेतृत्वमा अर्को टोली पठाइएको हो ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।