काठमाडौँ । नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत कृष्णभीरमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक तत्काल सोही स्थानबाट सञ्चालनमा आउन नसक्ने भएको छ ।
पहिरोको प्रकृति हेर्दा यसको स्थायी मर्मत तथा पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्न सक्ने भएकाले दशैं अगाडि सञ्चालन हुन नसक्ने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रले बताए । उनका अनुसार नदीको सहतबाटै ठुलो पहिरो खसेकाले सो स्थानबाट तत्काल सडक खुलाउन सक्ने अवस्था छैन ।
‘कृष्णभीरको पहिरो निकै ठुलो छ, नदीको सतहदेखि नै पहिरो गएको छ । यसलाई स्थायी रूपमा मर्मत गर्न अध्ययन, विस्तृत डिजाइन र टेन्डर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्छ । त्यसैले दशैं अगाडि यो स्थानबाट सडक चल्ने सम्भावना छैन,’ सूचना अधिकारी मिश्रले भने ।
आइतबार त्रिशुलीमा आएको बाढीले कृष्णभीर सडक कटान गरेको थियो । यससँगै मुग्लिन काठमाडौँ सडक पूर्ण रुपमा अवरुचद्ध बनेको छ ।
सूचना अधिकारी मिश्रका अनुसार यसअघि कृष्णभीरमा यसअघि पहिरोको जोखिम देखिएकाले मर्मतको कार्य भइरहेको थियो । यस जोखिम क्षेत्रको मर्मतका लागि ‘भर्टिकल पाइलिङ’को काम सम्पन्न भइसकेको थियो भने ‘होरिजन्टल एन्करिङ’को काम बर्खापछि गर्ने तयारी थियो । तर आधा मात्र काम भएको अवस्थामा फेरि ठुलो पहिरोले क्षति पुर्याएको छ ।
सडक तत्काल सञ्चालन हुन नसक्ने भएपछि यात्रु तथा सवारी आवागमन सहज बनाउन अहिले वैकल्पिक मार्गको खोजी तथा अध्ययन भइरहेको छ । सूचना अधिकारी मिश्रले भने, ‘तत्कालका लागि हाम्रो ध्यान वैकल्पिक रुटमा केन्द्रित छ । विभिन्न प्राविधिक टोलीहरू परिचालन गरेर २–४ वटा वैकल्पिक मार्गहरूको निरीक्षण भइरहेको छ । टोलीको मूल्यांकनपछि सबैभन्दा छोटो र उपयुक्त वैकल्पिक रुट तय गरिनेछ ।’
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।