काठमाडौं । भोटेकोशी नदीमा बाढी आएपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजीमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो ।उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत उडाएर खोजी गरेको थियो । तर, सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति फेला नपरेको सेनाले जनाएको छ ।
सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ ।भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजना क्षेत्रमा ठूलो क्षति भएको छ । आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरहरू सम्पर्कविहीन भएपछि विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।