नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धेरै परिवारको जीवन तहसनहस बनाएको छ। यही विपत्तिले विदुर नगरपालिका–१ का सुचित जोशीको परिवारलाई पनि गहिरो पीडामा डुबाएको छ। बाढी आएको दिनदेखि उनकी श्रीमती, सात वर्षीया छोरीसहित परिवारका चार सदस्य सम्पर्कविहीन छन्।
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसमा कार्यरत जोशी भदौ १० गते नियमित काममै व्यस्त थिए। स्नातक तहका विद्यार्थी भर्नाको काम भइरहेका बेला आफन्तबाट स्याफ्रुबेसीमा ठूलो बाढी आएको खबर पाए। सुरुमा उनले विगतमा आउने बाढीजस्तै ठाने। तर केहीबेरमै बाढीको भयावह रूप देखेपछि क्याम्पसमा रहेका सबैलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै आफू पनि उकालो लागे।
त्यतिबेला परिवारका सदस्यहरू पनि सुरक्षित स्थानतर्फ गइसकेको उनले अनुमान गरेका थिए। तर पछि मात्र श्रीमती मन्जु श्रेष्ठ, सात वर्षीया छोरी सुमानसिंह जोशी, भाइकी श्रीमती र उनका छोरा सम्पर्कविहीन रहेको थाहा पाए।
त्यसयता सुचितको दिनरात परिवारको खोजीमै बितिरहेको छ। मोटरसाइकल लिएर बाढी प्रभावित क्षेत्रका सम्भावित स्थानमा पुग्ने, सुरक्षाकर्मी तथा उद्धार टोलीसँग समन्वय गर्ने र आफन्तबारे कुनै खबर आउँछ कि भनेर प्रतीक्षा गर्ने क्रम रोकिएको छैन।
खोजीकै क्रममा उनले आफ्ना केही आफन्तलाई उद्धार गर्न सफल भए। बाढीमा फसेकी एक वृद्धाको समेत उद्धारमा उनले सहयोग गरे। अरूलाई सुरक्षित स्थानमा पुर्याउन सके पनि आफ्नै परिवारका चार सदस्यको कुनै खबर नपाउँदा उनको पीडा भने झन् गहिरिँदै गएको छ।
परिवारको खोजीमा उनले सकेसम्म सबै प्रयास गरिसकेका छन्। बाढी प्रभावित क्षेत्रमा पुगेर नामले बोलाउनेदेखि सिटी बजाएर सम्भावित ठाउँमा खोज्ने कामसमेत गरे। तर अहिलेसम्म कुनै निश्चित खबर प्राप्त हुन सकेको छैन।
सुचितकी सात वर्षीया छोरी सुमानसिंह ज्ञानकुञ्ज विद्यालयमा कक्षा १ मा पढ्दै थिइन्। छोरीका साना–साना बोली र व्यवहार अहिले सुचितको सम्झनामा झन् गहिरो भएर बसेका छन्।
आकाशमा हेलिकप्टर उडेको देख्दा छोरीले ‘बाबा, हेलिकप्टर आयो’ भन्ने गरेको सम्झना उनलाई बारम्बार आइरहन्छ। अरूका बालबालिकालाई बाबुसँग रमाइरहेको देख्दा पनि उनलाई आफ्नी छोरीसँग बिताएका क्षण सम्झना आउँछन्।
सबैभन्दा भावुक बनाउने क्षण भने मोबाइल खोल्दा आउँछ। उनले मोबाइलको वालपेपरमा छोरीको तस्बिर राखेका छन्। मोबाइलको स्क्रिनमा देखिने त्यही मुस्कुराइरहेको अनुहारले उनलाई छोरीसँग बिताएका दिन सम्झाइदिन्छ।
बाढीमा केही शवसमेत भेटिए पनि पहिचान गर्न कठिन भएको उनले बताएका छन्। त्यसैले परिवारका सदस्य जीवितै भेटिने आशा उनले अझै छाडेका छैनन्।
आफ्नै परिवारको पीडाबीच पनि सुचित उद्धार तथा खोजी अभियानमा सक्रिय छन्। आफूजस्तै विपत्तिमा परेका परिवारलाई हिम्मत नहार्न आग्रह गर्दै उनी परिवार फर्किने आशामा निरन्तर खोजीमा छन्।
भोटेकोशीको बाढीले धेरै परिवारलाई शोकमा डुबाएको छ। तर सुचितजस्ता परिवारका लागि खोजी अभियानसँगै आफ्ना प्रियजन सकुशल फर्किने आशा अझै बाँकी छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।