काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको ड्रोन उपलब्ध गराएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयको पहलमा प्राप्त उक्त सेमी-अटोनोमस ड्रोन शनिबार नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।
स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि उपयोगी मानिन्छ ।
स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त प्रविधि प्राधिकरणका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका छन् । विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारो, साँघुरो र जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्नेगरी यो ड्रोनको डिजाइन गरिएको छ ।
ड्रोनको बाहिरी भागमा विशेष सुरक्षा घेरा (प्रोटेक्टिभ केज) जडान गरिएको छ । जसले गर्दा सुरुङका भित्ता वा चट्टानमा ठोक्किँदा समेत यसलाई क्षति नपुग्ने र पुनः उडान भर्न सक्ने बताइएको छ ।
सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा देखाउन सक्ने भएकाले उद्धार टोलीलाई जोखिमको मूल्याङ्कन गर्न, फसेका व्यक्तिको स्थिति पत्ता लगाउन र उचित उद्धार रणनीति तय गर्न यो प्रविधिले महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यो प्रविधिको प्रयोगले उद्धारकर्ताहरूलाई जोखिमपूर्ण सुरुङभित्र पठाउनुअघि त्यहाँको स्थितिको पहिचान गर्न सहज हुने विद्युत् प्राधिकरणले जनाएको छ । यसले कठिन परिस्थितिमा पनि उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
भोटेकोशी-त्रिशूली क्षेत्रको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङहरूमा कार्यरत सयौं कामदार सम्पर्कविहीन छन् । समन्वयको अभाव र परम्परागत खोज शैलीले उद्धार कार्य सुस्त भएको भन्दै सरकारको आलोचना भइरहेको छ । माटो, पानी र गेग्रानले भरिएका सुरुङमा साधारण ड्रोन र थर्मल क्यामेरा प्रभावकारी नहुने अवस्थामा यो स्विस ड्रोनले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने प्राधिकरणको भनाइ छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।