ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । घरपरिवार चलाउनुपर्ने काम भनेपछि सामान्यतया: खाना पकाउने, लुगा धुने, सरसफाइ गर्ने वा बच्चाको हेरचाह गर्ने जस्ता प्रत्यक्ष देखिने काम सम्झिन्छौँ । तर, परिवारको दैनिक जीवनलाई व्यवस्थित राख्न त्यसअघि नै गर्नुपर्ने अर्को ठुलो काम हुन्छ । त्यो हो योजना बनाउने, सम्झिरहने, अनुमान गर्ने र सही समयमा सही निर्णय लिने ।

यही अदृश्य जिम्मेवारीलाई पछिल्लो समय ‘मानसिक भार’ अर्थात् मेन्टल लोड भनेर चर्चा गर्न थालिएको छ । बेलायतको स्टकपोर्टकी तीन सन्तानकी आमा स्टेसी म्याथियसका लागि यो अनुभव दैनिक जीवनको अभिन्न हिस्सा हो । उनी भन्छिन्, उनको दिमागमा सधैँ गर्नुपर्ने कामहरूको सूची चलिरहेको हुन्छ र राति सुत्न जाँदा पनि अर्को दिनका जिम्मेवारीबारे सोचिरहेकी हुन्छिन् ।

विद्यालय कहिले खुल्छ ? बच्चाको विद्यालयमा कुनै कार्यक्रम छ कि छैन ? अभिभावकको ह्वाट्सएप समूहमा नयाँ सूचना आएको छ कि छैन ? घरमा कुन सामान सकिँदै छ ? बच्चाको स्वास्थ्य जाँच कहिले गर्ने ? विद्यालयका लागि नयाँ पोसाक कहिले किन्नुपर्छ ?

यी काम आफैंमा ठुलो नदेखिए पनि तिनलाई निरन्तर सम्झिरहनु र समयमै पूरा गराउनु मानसिक रूपमा थकाउने काम हुन सक्छ ।

आमाहरूले सम्हाल्छन् ७१ प्रतिशत मानसिक काम

अमेरिकाका ३ हजार अभिभावक सहभागी सर्वेक्षणमा युनिभर्सिटी अफ बाथ र युनिभर्सिटी अफ मेलबर्नका अनुसन्धानकर्ताहरूले आमाहरूले मानसिक प्रयास आवश्यक पर्ने घरायसी काममध्ये ७१ प्रतिशत सम्हाल्ने गरेको पाएका थिए ।

अनुसन्धानमा तन्दा, सिरकका खोल र तौलिया कहिले धुने, फ्रिजमा रहेको खाना कहिलेसम्म प्रयोग गर्नुपर्छ भन्ने सम्झनेलगायतका काम पनि मानसिक श्रमका रूपमा समेटिएका थिए ।

यसको विपरीत, बुबाहरूले तुलनात्मक रूपमा कम पटक हुने वा ‘एपिसोडिक’ काम बढी सम्हाल्ने गरेको अध्ययनले देखाएको थियो । उदाहरणका लागि, कारको सर्भिस कहिले गर्ने भन्ने सम्झनु यस्तो काममा पर्छ ।

युनिभर्सिटी अफ मेलबर्नकी प्राध्यापक लेह रुपानेरका अनुसार मानसिक भार अदृश्य, निरन्तर र सीमाविहीन हुन्छ । घरको भौतिक काम घरमै छोड्न सकिए पनि मानसिक भार भने व्यक्तिसँगै काम गर्ने ठाउँसम्म पुग्न सक्छ ।

‘तिमीले के गर्नुपर्छ भन न’

धेरै दम्पतीमा एउटा सामान्य अवस्था देखिन्छ, एक जनाले अर्को जनालाई सहयोग गर्न खोज्दै सोध्छ, ‘म के गरौँ ?’ भन्न । तर मानसिक भारको कुरा गर्ने महिलाहरूका लागि यही प्रश्न आफैँमा अर्को जिम्मेवारी बन्न सक्छ ।

तीन सन्तानकी आमा सोफिया बताउँछिन्, विद्यालयका कार्यक्रमको शुल्क तिर्नेदेखि बच्चाको खाना अर्डर गर्नेसम्मका काम उनी आफैँले मोबाइलबाट गर्छिन् । उनका श्रीमान्ले भने विद्यालयको एपसमेत डाउनलोड गरेका छैनन् ।

उनका अनुसार कुनै काम पाँच मिनेटमै सकिने भए पनि त्यसअघि त्यो काम सम्झनु, कहिले गर्नुपर्छ भनेर थाहा पाउनु र त्यसको तयारी गर्नु आवश्यक हुन्छ ।

यही कारणले ‘काम गरिदिनु’ र ‘कामको जिम्मेवारी लिनु’ फरक कुरा भएको उनीहरूको अनुभव छ । लन्डनका दुई सन्तानका बुबा साम बेरीले पनि सुरुमा मानसिक भारको अवधारणा बुझ्न कठिन भएको बताएका छन् । बच्चा जन्मिएपछि उनले डायपर फेर्ने, बच्चालाई खाना खुवाउनेलगायत धेरै काम गरेको भए पनि उनकी श्रीमतीले उठाएको प्रश्नको अर्थ पछि मात्र बुझे ।

उदाहरणका लागि, खाना पकाउनु भनेको केवल चुलोमा खाना बनाउनु होइन । घरमा के छ भनेर हेर्नु, के पकाउने निर्णय गर्नु, आवश्यक सामान किन्नु र त्यसपछि खाना बनाउनु पनि त्यसैको हिस्सा हो ।

मानसिक भारले स्वास्थ्य र करियरमा असर

क्लिनिकल मनोवैज्ञानिक नतासा वालेसका अनुसार महिलाहरूले ठुलो एउटै समस्याभन्दा पनि सयौँ साना जिम्मेवारीका कारण तनाव अनुभव गरिरहेका हुन्छन् । उनीहरूलाई आफ्नो मस्तिष्क र शरीरलाई पूर्ण रूपमा ‘स्विच अफ’ गर्न कठिन हुन सक्छ ।

लगातारको यस्तो तनावले निद्रामा समस्या, चिडचिडापन र निर्णय लिँदा थकान निम्त्याउन सक्ने उनको भनाइ छ ।

यसको असर घरबाहिरको जीवनमा पनि पर्न सक्छ । अभिभावकत्वसम्बन्धी विज्ञ अनिता क्लियरका अनुसार घरको मानसिक र शारीरिक भार अत्यधिक हुँदा त्यसको असर काम गर्ने क्षमता र करियरमा समेत पर्न सक्छ । एउटा अध्ययनले महिलाको आम्दानी बढेपछि उनीहरूले घरको शारीरिक काम केही कम गरे पनि मानसिक कामको मात्रा भने उस्तै रहने देखाएको थियो ।

कतिपय अवस्थामा महिलाले करियरलाई ढिलो बनाउने, पार्ट टाइम काम रोज्ने वा जागिर नै छाड्ने निर्णयसमेत गर्न सक्ने विज्ञहरू बताउँछन् ।

किन महिलामाथि बढी भार ?

बीबीसीसँग कुरा गरेका केही महिलाले यस्तो असमानता बच्चा जन्मिएपछि सुरु हुने बताएका छन् । वालेसका अनुसार आमाहरूले सामान्यतया बाबुको तुलनामा लामो समय मातृत्व बिदा लिने भएकाले उनीहरू परिवारमा सुरुदेखि नै ‘डिफल्ट अभिभावक’ बन्न सक्छन् । बच्चाको बारेमा सबैभन्दा धेरै जानकारी भएको व्यक्ति जब एउटै हुन्छ, परिवारका अरू सदस्य पनि हरेक प्रश्नका लागि त्यही व्यक्तिकहाँ पुग्न थाल्छन् ।

यससँगै परम्परागत लैङ्गिक भूमिकाले पनि भूमिका खेल्न सक्छ ।

तर विशेषज्ञहरूका अनुसार समाधान हरेक कामलाई ठ्याक्कै ५०–५० प्रतिशत बाँड्नु मात्र होइन । बरु दुवै साझेदारले निश्चित जिम्मेवारीको पूर्ण स्वामित्व लिनु महत्त्वपूर्ण हुन्छ । उदाहरणका लागि, एक जनाले विद्यालयसम्बन्धी सबै प्रशासनिक काम र अर्कोले खानासम्बन्धी सम्पूर्ण जिम्मेवारी लिन सक्छ ।

मानसिक भार घटाउने उपाय

विज्ञहरूले दम्पतीलाई आफ्ना जिम्मेवारीबारे खुलेर कुरा गर्न, साझा क्यालेन्डर प्रयोग गर्न र नियमित रूपमा एकअर्कासँग छलफल गर्न सुझाव दिएका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफूले लिएको काम पूरा गर्न बारम्बार सम्झाउनुपर्ने अवस्था नबनाउनु हो ।

कतिपय अनावश्यक जिम्मेवारी छोड्न पनि सकिन्छ । उदाहरणका लागि, बालबालिकाका साथीहरूको जन्मदिनका लागि हरेक पटक कार्ड किन्नैपर्ने हो कि होइन, वा अभिभावकको हरेक ह्वाट्सएप समूहमा सक्रिय रहन आवश्यक छ कि छैन भन्ने प्रश्न गर्न सकिन्छ ।

मानसिक भारको बहस घर सफा छ कि छैन वा बच्चाले खाना खायो कि खाएन भन्ने मात्र विषय होइन । यो परिवारको दैनिक जीवन व्यवस्थित राख्ने जिम्मेवारी कसले सोचिरहेको छ भन्ने प्रश्न पनि हो । र, धेरै महिलाका लागि समस्या यही अदृश्य जिम्मेवारीको निरन्तरतामा छ; उनीहरू घरबाट बाहिर निस्किए पनि त्यो जिम्मेवारी उनीहरूको दिमागबाट बाहिर निस्कँदैन ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय