मुस्ताङ — हिमालपारिको जिल्ला मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्लास्तरीय निर्णयअनुसार ढिलो पाक्ने स्याउको टिपाइ पनि सुरु भएसँगै जिल्लाका विभिन्न स्याउ बगैँचामा किसान तथा व्यापारीको चहलपहल बढेको छ।
यसअघि छिटो पाक्ने गाला, फुजी र साउनेलगायतका स्याउ भदौ १५ गतेदेखि टिप्न अनुमति दिइएको थियो। ढिलो पाक्ने प्रजातिका स्याउ भने सोमबारदेखि टिप्न खुला गरिएको हो। स्याउको गुणस्तर कायम राख्न, पर्याप्त गुलियोपना विकास गर्न र मुस्ताङी स्याउको पहिचान जोगाउने उद्देश्यले जिल्लास्तरबाट टिपाइको कार्यतालिका निर्धारण गरिएको हो।
टिपाइ खुला भएसँगै किसानहरू बगैँचामा स्याउ टिप्न व्यस्त भएका छन्। जिल्लाभित्र तथा बाहिरबाट आएका व्यापारीसमेत किसानका बगैँचामै पुगेर स्याउ खरिद गर्न थालेका छन्। लामो समयदेखि स्याउ व्यापार गर्दै आएका व्यापारीहरूले यस वर्ष पनि मुस्ताङबाट ठूलो परिमाणमा स्याउ बजार पठाउने तयारी गरेका छन्।
गत वर्ष मुस्ताङमा १ अर्ब १० करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब ९० प्रतिशत जिल्ला बाहिर निकासी भएको थियो। कृषि तथा पशु विकास कार्यालयका अनुसार मुस्ताङका पाँच स्थानीय तहमा ८९९ दशमलव १६ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ।
यस वर्ष पनि स्याउको टिपाइ सुरु भएसँगै मुस्ताङका बगैँचा लटरम्म फलेका स्याउले आकर्षक बनेका छन् भने किसानहरू उत्पादन बजारमा पठाउने तयारीमा जुटेका छन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।