काठमाडौँ । विनाशकारी बाढीका कारण पढाइ प्रभावित भएका रसुवाको स्याफ्रुबेँसीका ५८ जना विद्यार्थीलाई काठमाडौँको डल्लु, बिजेश्वरीस्थित गीता माता माध्यमिक विद्यालयमा तत्कालका लागि व्यवस्थापन गरिएको छ ।
कक्षा १ देखि १० सम्म भर्ना भएका विद्यार्थीमध्ये २१ जना छात्र र ३७ जना छात्रा छन् । उनीहरूको शिक्षालाई निरन्तरता दिन र तत्काल पुनर्स्थापनामा सघाउन विभिन्न निकायको सहकार्यमा यो पहल गरिएको हो ।नयाँ विद्यालयमा घुलमिल र अध्ययन सुरु गर्न सहज होस् भन्ने उद्देश्यले उनीहरूलाई विद्यालय झोला, शैक्षिक सामग्री, जुत्ता, मोजा तथा भित्री पोसाक उपलब्ध गराइएको छ ।विद्यार्थीको शैक्षिक खर्चमा काठमाडौं महानगरपालिकाले सहयोग गरेको छ भने उनीहरूलाई आश्रयस्थलबाट गीता माता माध्यमिक विद्यालयसम्म पुर्याउन एलआरआई विद्यालयले यातायात सहयोग उपलब्ध गराएको छ। विद्यार्थीको पुनर्स्थापना तथा पढाइलाई निरन्तरता दिन आवश्यक अन्य सम्पूर्ण सहयोग करुणा फाउन्डेसन नेपालले उपलब्ध गराएको छ।
यी विद्यार्थीहरु स्याफ्रुबेसी माविका रहेको र तत्कालको लागि मात्रै व्यवस्थापन गरिएको हो ।
अहिले काठमाडौँमा रहेका विद्यार्थीलाई बस्दा अप्ठेरो नहोस्, मानसिक रूपमा समस्या नहोस् भनेर तत्काल विद्यालय पठाइएको हो । स्याफ्रुबेसी माविका प्रधानाध्यापक किशोरकुमार पुर्कोटीले भने ‘अहिले स्कुलमा भर्ना गरिएको होइन । यो समयमा भर्ना गर्न मिल्दैन पनि । हामी भर्ना गर्न चाहेका पनि होइनौँ ।विद्यालयको संरचना रसुवामा बाढीले क्षति पुर्याएको छैन ।’
‘भवनमा क्षति पुगेको छैन, तर यातायातको असहजताका कारण जान नसकिएको मात्रै हो,’ उनले भने, ‘यातायात सहज हुनासाथ हामी यी सबै विद्यार्थी लिएर जानेछौँ ।’
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।