ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध आप्रवासन नियन्त्रण र निर्वासनलाई प्रमुख प्राथमिकता बनाएका छन् । ‘अमेरिकी इतिहासकै सबैभन्दा ठुलो निर्वासन अभियान’ सञ्चालन गर्ने उनको प्रतिबद्धतासँगै आप्रवासीमाथि धरपकड, बढ्दो हिरासत, तीव्र निर्वासन र बल प्रयोगले पनि सीमा नागेको छ । अमेरिकी सरकारका तथ्याङ्क तथा विभिन्न स्वतन्त्र स्रोतका आधारमा गरेको विश्लेषणले ट्रम्प प्रशासनको आप्रवासन अभियान कति व्यापक बनेको छ भन्ने उजागर गर्दछ ।

ट्रम्प प्रशासनले पक्राउ अभियानमा मुख्यतः आपराधिक पृष्ठभूमि भएका आप्रवासीलाई लक्षित गरिएको दाबी गर्दै आएको छ । तर विभिन्न अनुसन्धानका अनुसार पक्राउ पर्ने अधिकांश व्यक्तिको आपराधिक अभियोगमा दोषी ठहर भएको रेकर्ड छैन ।अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी विभाग (डिएचएस)ले भने फरक तथ्याङ्क प्रस्तुत गरेको छ । उसका अनुसार आईसिईबाट पक्राउ परेका करिब ७० प्रतिशत व्यक्तिलाई अमेरिकामा अपराधमा दोषी ठहर गरिएको वा उनीहरूमाथि आपराधिक अभियोग लगाइएको छ । यस गणनामा अदालतमा विचाराधीन अभियोगसमेत समावेश छन् । आलोचकहरूले भने अभियोग लाग्नु र दोषी प्रमाणित हुनु फरक कुरा भएकाले यस्तो गणनाले पक्राउ पर्ने मानिसको वास्तविक आपराधिक पृष्ठभूमि बढाइचढाइ देखाउने बताएका छन् ।

ट्रम्प प्रशासनको अभियानमा आईसिई अर्थात् इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टको भूमिका झन् महत्वपूर्ण बनेको छ । अमेरिका–मेक्सिको सीमामा कडाइ बढेसँगै सीमामा हुने पक्राउ घटेका छन् भने देशभित्रै आप्रवासी खोजी तथा पक्राउ गर्ने काम ICE केन्द्रित भएको छ ।

गोली चलाउने घटना पनि बढ्दो

आप्रवासन कार्यान्वयनका क्रममा संघीय एजेन्टको बलप्रयोगप्रति पनि प्रश्न उठेको छ । सीएनएनका अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ड्युटीमा रहेका आईसिई र सिबिपि एजेन्टको गोली प्रहारबाट कम्तीमा २० जना मानिस प्रभावित भएका छन् ।

विशेषगरी सन् २०२६ को गर्मीयाममा भएका दुई गोलीकाण्डले राष्ट्रिय ध्यान खिचेका थिए । डिएचएसले ती घटनाको अनुसन्धान भइरहेको जनाएको छ । संघीय अधिकारीहरूले प्रारम्भिक प्रतिक्रियामा गोली चलाउनु परिस्थितिअनुसार जायज भएको बताएका छन् । तर आप्रवासी अधिकारवादी तथा केही स्थानीय नेताहरूले संघीय एजेन्टले अत्यधिक बल प्रयोग गरेको र यसले समुदायको सुरक्षामै जोखिम उत्पन्न गरेको जनाएका छन् ।

करिब १० लाख निर्वासन

डिएचएसका अनुसार ट्रम्प प्रशासनले हालसम्म ९ लाख ८५ हजार मानिसलाई अमेरिकाबाट निर्वासन गरिसकेको छ । यद्यपि यो संख्यामा आईसीई, सिबिपि र अन्य संघीय निकायको योगदान कति–कति छ भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

आईसीईको चालू आर्थिक वर्षको प्रारम्भिक तथ्याङ्कले पनि पछिल्ला वर्षको तुलनामा निर्वासनको गति उच्च रहेको देखाउँछ । अधिकारवादी समूह र बढी निर्वासनको पक्षमा रहेका केही समूह दुवैले सरकारसँग अझ विस्तृत तथ्याङ्क सार्वजनिक गर्न माग गरेका छन्, ताकि अभियानको वास्तविक प्रभाव स्वतन्त्र रूपमा मूल्यांकन गर्न सकियोस् ।

हिरासतमा झन्डै ६६ हजार

आप्रवासीमाथिको कारबाहीको अर्को ठुलो पक्ष हिरासत हो । जुलाई २०२६ सम्म आईसीई हिरासतमा करिब ६६ हजार मानिस थिए, जुन ट्रम्प दोस्रो कार्यकाल सुरु गर्दा रहेको संख्याभन्दा झन्डै ७० प्रतिशत बढी हो । सरकारले हिरासत क्षमतासमेत थप विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।

हिरासत बढेसँगै त्यहाँ हुने मृत्युको संख्या पनि चिन्ताको विषय बनेको छ । आईसीईका अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता कम्तीमा ५७ जनाको हिरासतमा मृत्यु भएको छ । तीमध्ये कम्तीमा १० जनाको मृत्यु आत्महत्याको आशंकामा भएको थियो । केही मृतकमा पहिलेदेखि स्वास्थ्य समस्या रहेको बताइएको छ ।

विभिन्न अनुसन्धानले केही घटनामा कमजोर स्वास्थ्य सेवा, पर्याप्त कर्मचारीको अभाव र बढ्दो हिरासत जनसङ्ख्याबिच सम्बन्ध देखाएका छन् । यता डिएचएसले भने हिरासतमा स्वास्थ्य सेवाको स्तर कमजोर रहेको आरोप अस्वीकार गर्दै आएको छ ।

मृत्युको दरबारे पनि सरकार र आलोचकबिच मतभेद छ । डिएचएसले हिरासतमा मृत्युको दरमा उल्लेख्य वृद्धि नभएको दाबी गरेको छ । तर सीएनएनको विश्लेषणले ट्रम्पको दोस्रो कार्यकालमा मासिक तथा वार्षिक मृत्यु दर बढेको देखाएको छ । ह्युमन राइट्स फ्रस्ट जस्ता संथाले गरेको विश्लेषणमा त दोस्रो कार्यकाल सुरु भएयता हिरासतमा मृत्यु दर दोब्बरभन्दा बढी भएको निष्कर्ष निकालिएका छन् ।

यसरी हेर्दा ट्रम्पको आप्रवासन अभियान केवल सीमामा कडाइ गर्ने नीतिमा सीमित छैन । देशभित्र व्यापक पक्राउ, बढ्दो हिरासत, तीव्र निर्वासन र बल प्रयोगका घटनाले अमेरिकी आप्रवासन नीतिलाई पहिलेभन्दा निकै आक्रामक बनाएको तथ्याङ्कले देखाउँछ । तर पक्राउ परेकामध्ये कति वास्तवमै गम्भीर अपराधमा दोषी छन्, हिरासतमा मृत्युको कारण के हो र निर्वासनको वास्तविक संख्या कति हो भन्ने विषयमा अझै पारदर्शी तथा विस्तृत सरकारी तथ्यांकको चाहिएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय