काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’ का अभियन्ता नैनसिंह महरले विपत्तिको घडीमा पार्टीले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
देवीघाट, त्रिशूलीसहित बाढी र पहिरोले सङ्कट निम्त्याएका क्षेत्रमा राहत तथा उद्धारमा खटिएर काठमाडौँ फर्किएपछि सम्पर्क समितिका सभापतिहरूसँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भएको अनि अधिकांश सडक मार्ग अवरुद्ध रहेको अवस्थामा १५औँ महाधिवेशन केही समय सारेर भए पनि पार्टीभित्र समग्र एकता निर्माण गर्नुपर्ने उनले बताए।देशको वर्तमान अवस्थाबारे बोल्दै उनले भने, ‘आज हजारौँ नेपाली नागरिक विपत्तिमा छन्। कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ। यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोड–घटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ।’
रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढी तथा पहिरोले जनजीवन नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उनले विपत्तिको समयमा राजनीतिक दलको वास्तविक परीक्षा हुने बताए। महाधिवेशनलाई अनिश्चितकालसम्म नसारी दशैँपछि सम्पन्न हुने गरी केही समय मिति परिवर्तन गर्न सकिने प्रस्ताव उनले अघि सारेका छन्।
यसो गर्दा विपत्तिमा परेका नागरिकलाई राहत तथा पुनर्स्थापनामा कांग्रेसलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने र पार्टीभित्रका असन्तुष्टि तथा दूरी संवादमार्फत सम्बोधन गर्दै बृहत् एकता निर्माण गर्न समय मिल्ने उनको भनाइ छ। महाधिवेशनको महत्त्वबारे बोल्दै उनले भने, ‘महाधिवेशन व्यक्तिको जित–हार तय गर्ने अवसर मात्र होइन, कांग्रेसको भविष्य तय गर्ने ऐतिहासिक क्षण हो।’
हतारमा महाधिवेशन नगर्न आग्रह गर्दै उनले थपे, ‘त्यसैले हतारमा महाधिवेशन गरेर पार्टीलाई अझ विभाजित बनाउनुभन्दा केही समय लिएर सबैलाई समेट्ने, मन मिलाउने र कांग्रेसलाई एकताबद्ध बनाउने बाटो रोज्नु बुद्धिमानी हुन्छ।’
कांग्रेसभित्रको एकता कुनै गुट वा व्यक्तिको स्वार्थका लागि नभई लोकतन्त्र, संविधान र देशको भविष्यका लागि आवश्यक रहेको उनले स्पष्ट पारे। पार्टीको आवश्यकता औँल्याउँदै उनले भने, ‘आज कांग्रेसलाई कुर्सीको होइन, एकताको आवश्यकता छ; प्रतिस्पर्धाको होइन, सहकार्यको आवश्यकता छ। देश सङ्कटमा रहेका बेला कांग्रेसभित्रै विभाजनको राजनीति गरेर जनताको विश्वास जित्न सकिँदैन। त्यसैले सबै नेताहरूले व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर एकताको पक्षमा निर्णायक कदम चाल्नुपर्छ।’
विपत्तिमा जनताको साथ, पार्टीभित्र एकताको प्रयास र त्यसपछि मात्रै महाधिवेशनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। महाधिवेशनको मिति केही समय सार्ने विषयलाई कमजोरीका रूपमा नभई कांग्रेसलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा उनले राखेका छन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।