काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको बाढीका कारण नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रले इतिहासकै सबैभन्दा ठूलो क्षति व्यहोरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीका कारण जलविद्युत् क्षेत्रमा मात्रै १५१ अर्ब ४ करोड ४५ लाख रुपैयाँ (रु. १५,१०४.४५ करोड वा ९९७.१३ मिलियन अमेरिकी डलर) बराबरको भौतिक क्षति भएको छ।क्षतिग्रस्त जलविद्युत् आयोजना र ऊर्जा क्षेत्रको पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि करिब ३९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ (रु. ३९,०६२.३० करोड वा २५७८.७१ मिलियन अमेरिकी डलर) लाग्ने प्रारम्भिक आकलन गरिएको छ। क्षति र पुनःप्राप्ति आवश्यकता दुवै दृष्टिले पूर्वाधार क्षेत्रअन्तर्गत जलविद्युत् तथा ऊर्जा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्राधिकरणले जनाएको छ। तथ्याङ्कअनुसार १३ वटा साना–ठूला जलविद्युत् आयोजनामा बाढीले गम्भीर क्षति पुर्याएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह र सुरुङ (टनेल) हरूमा लेदो र ढुङ्गा भरिँदा ठूलो क्षति पुगेको छ। आयोजना स्थलमा फसेका र बेपत्ता भएका कामदारहरूको खोजीका लागि नेपाली सेनासहित अन्तर्राष्ट्रिय उद्धार टोलीहरू परिचालित छन्।
- माथिल्लो त्रिशूली–१ (२१६ मे.वा.): यस आयोजनाको ‘अडिट–३’ मा नेपाली सेना र अस्ट्रेलियाली टोलीका ९ जनाद्वारा खोजी तथा उद्धार कार्य भइरहेको छ।
- रसुवागढी जलविद्युत् आयोजना (१२० मे.वा.): यहाँ नेपाली सेनाका ५ जना र अस्ट्रेलियाली टोलीका ४ जनाको संयुक्त टोलीले निरन्तर खोजी कार्य गरिरहेको छ।
- त्रिशूली ३ ‘ए’ (६० मे.वा.): नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले सुरुङ र विद्युत्गृह इलाकामा खोजतलास गर्दा अहिलेसम्म केही फेला परेको छैन। खोजी निरन्तर जारी छ।
- त्रिशूली ३ ‘बी’ (३७ मे.वा.): संयुक्त सुरक्षा फौजद्वारा ३ वटा एक्स्काभेटर प्रयोग गरी १० मिटर चौडाइ र ११ मिटर गहिराइसम्म खाल्डो खन्दा आयोजनाका केही बिम, पिलर र इट्टाहरू फेला परेका छन्। उत्खनन कार्य अझै जारी छ।
- चिलिमे जलविद्युत् (२२ मे.वा.): नेपाली सेना र भारतीय सेनाको ३७ सदस्यीय संयुक्त विपद् उद्धार टोलीले सुरुङभित्र खोजतलास गर्दा हालसम्म केही फेला पर्न सकेको छैन।
- लाङटाङ (२० मे.वा.) र रसुवा भोटेकोशी: यी आयोजनाहरूमा पनि उद्धार र खोजी कार्य निरन्तर रूपमा भइरहेको छ।
विद्युत् आपूर्ति सुचारु गर्न तीव्र प्रयास
क्षतिग्रस्त ऊर्जा पूर्वाधारका कारण प्रभावित भएको विद्युत् आपूर्तिलाई सुचारु गर्न विभिन्न पहल भइरहेका छन्। रसुवा जिल्लाका करिब ८० प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भइसकेको छ। विद्युत् आपूर्ति सुचारु हुन थप समय लाग्ने गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका प्रभावित क्षेत्र र स्वास्थ्य चौकीहरूमा ‘सोलार प्यानल’ जडान गरी वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको छ।
त्यस्तै, धादिङको जहरे ‘चार्ज स्टेसन’ मा सफाइ र मर्मत कार्य गरिएपछि धादिङमा ‘भोल्टेज’ को समस्या समाधान हुने अपेक्षा गरिएको छ। विद्युत् आपूर्ति सुचारु गर्न तथा भोल्टेज व्यवस्थापनका लागि देवीघाट स्टेसनको पुनर्स्थापना गर्न प्राधिकरणले एक प्राविधिक अध्ययन टोली समेत गठन गरेको छ। बाढीग्रस्त बेत्रावती क्षेत्रलगायत धादिङ र नुवाकोटका क्षति पुगेका स्थानमा रसुवाबाट ‘पोलिङ’ कार्य गरी विद्युत् सुचारु गर्ने काम भइरहेको प्रतिवेदनमा उल्लेख छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।