भारतको बिहारमा गर्मी ४० डिग्री सेल्सियस आसपास पुगेका बेला कटिहारका किरण कुमार आफ्ना पाँच साथीसहित नेपालतर्फ लागे । जोगवनी हुँदै विराटनगर प्रवेश गरेको टोली धनकुटाको भेंडेटार पुग्दा उनीहरूले खोजेको गन्तव्य भेट्टाए— चिसो मौसम, कुहिरो र पहाडको वातावरण ।
दुई दिन भेंडेटार र नाम्जेमा बिताएपछि फर्किएका किरणले त्यहाँको अनुभव आफ्ना साथीहरूलाई सुनाउने बताए । उनका लागि नेपाल कुनै टाढाको विदेशी गन्तव्य थिएन । सीमावर्ती भारतीय शहरबाट सहजै पुग्न सकिने । गर्मी छल्न सकिने र नयाँ अनुभव लिन सकिने नजिकको ठाउँ थियो ।किरणको यो यात्रा एउटा व्यक्तिगत अनुभवजस्तो देखिए पनि यसले कोशी प्रदेशको पर्यटन सम्भावना बुझ्न निकै महत्त्वपूर्ण छ । कोशीमा भारतीय पर्यटक धार्मिक आस्थाले आउँछन्, गर्मी छल्न पहाड चढ्छन्, स्वास्थ्य उपचारका लागि विराटनगर र अन्य सहर पुग्छन्, व्यापार तथा रोजगारीसँग जोडिन्छन्, मेडिकल कलेजमा अध्ययन गर्छन् र मनोरञ्जनका लागि पनि नेपाल आउँछन् ।कोशी प्रदेशले यो सम्भावनालाई एउटै पर्यटन रणनीतिमा जोडेर उपयोग गर्न सकेको छैन । समस्या पर्यटक नआउनु होइन । समस्या त आइरहेका पर्यटकलाई योजनाबद्ध रूपमा गन्तव्य, पूर्वाधार र अर्थतन्त्रसँग जोड्न नसक्नु हो ।
- भारतीय पर्यटक : नजिकको ठुलो बजार
नेपाल–भारत खुला सीमा र भौगोलिक निकटता कोशी प्रदेशको पर्यटनका लागि सबैभन्दा ठुलो प्राकृतिक लाभ हो । बिहार, पश्चिम बंगाल र सिक्किमसँग जोडिएको कोशीमा भारतीय पर्यटकका लागि धेरै गन्तव्य छोटो यात्रामै पुग्न सकिने दुरीमा छन् ।
विराटनगर, काँकडभिट्टा, कोशी ब्यारेज र पशुपतिनगरजस्ता प्रवेश नाका तथा विराटनगर र भद्रपुर विमानस्थलले प्रदेशलाई भारतसँग जोडिरहेका छन् ।
कोशी प्रदेशको पर्यटन व्यवसायको मेरुदण्ड नै भारतीय पर्यटक हुन् । भारतीयहरू स्वास्थ्य, धार्मिक, सांस्कृतिक, प्राकृतिक र मनोरञ्जनलगायत विभिन्न उद्देश्यले नेपाल आइरहेका छन् । सङ्ख्या ठुलो भए पनि उच्च खर्च गर्ने पर्यटकको अनुपात भने कम छ । सरकारले भारतीय साना सवारीको विवरण राख्न थालेपछि आएको तथ्याङ्कले पनि आवागमनको आकार देखाएको छ । एक वर्षमा ६५ हजारभन्दा बढी भारतीय साना सवारी नेपाल प्रवेश गरेको पाइन्छ । त्यसबाट करिब दुई लाखभन्दा बढी भारतीय नागरिक नेपाल प्रवेश गरेको अनुमान छ ।
कोशीका प्रमुख नाकाबाट मात्रै एक महिनामा ११ हजारभन्दा बढी साना सवारी प्रवेश गरेका थिए । यो तथ्याङ्क पर्यटककै सङ्ख्या होइन । तर यसले एउटा महत्त्वपूर्ण प्रश्न भने उठाउँछ— यदि सीमाबाट यति ठुलो सङ्ख्यामा भारतीय नागरिक प्रवेश गर्छन् भने उनीहरूलाई कोशीका गन्तव्यसम्म पुर्याउने र लामो समय रोक्ने हाम्रो तयारी कति छ ? यही प्रश्नको उत्तरमा कोशीको पर्यटन विकासको कमजोरी लुकेको छ ।
- आस्थाको शक्तिले तानेका गन्तव्य
भारतीय पर्यटकको सबैभन्दा बलियो आकर्षणमध्ये धार्मिक पर्यटन हो । ताप्लेजुङको पाथीभरा, खोटाङको हलेसी महादेव, सुनसरीको वराहक्षेत्र, मोरङको रंगेलीस्थित संसारी माइस्थान र माईबेनीलगायतका धार्मिक स्थलमा भारतबाट बर्सेनि ठुलो सङ्ख्यामा श्रद्धालु आउने गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका पछिल्ला सार्वजनिक अभिलेखअनुसार यहाँ वार्षिक करिब दुईदेखि अढाई लाख दर्शनार्थी पुग्छन् । विदेशीमध्ये भारतीय श्रद्धालु नै सबैभन्दा बढी हुने गरेको बताइन्छ ।
पश्चिम बंगाल, सिक्किम, बिहार र असामबाट नवरात्र, दसैँ तथा नयाँ वर्षका अवसरमा ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् ।
खोटाङको हलेसीमा पनि स्थानीय सरकार र पर्यटन सरोकारवालाको अनुमानअनुसार वर्षमा दुईदेखि तीन लाखसम्म दर्शनार्थी पुग्ने गरेका छन् । शिवरात्रि, रामनवमी र श्रावणमा बिहार, झारखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालबाट श्रद्धालु आउने गरेका छन् ।
सुनसरीको बराहक्षेत्रमा त धार्मिक पर्वका बेला भिडको आकार झनै ठुलो हुन्छ । मकर सङ्क्रान्ति, कोकाह स्नान, हरिबोधिनी एकादशी तथा अन्य अवसरमा नेपाल र भारतबाट श्रद्धालु पुग्छन् ।
वराहक्षेत्र विकास समितिका अध्यक्ष अविजाल विष्टका अनुसार जेठ–असारमा पुरुषोत्तम स्नानका लागिमात्रै पाँच लाखभन्दा बढी श्रद्धालु वराहक्षेत्र पुगेका थिए । सामान्य अवस्थामा समेत वार्षिक करिब पाँच लाख श्रद्धालु पुग्ने उनको अनुमान छ । मोरङको रंगेलीमा रहेको संसारी माइस्थानमा रामनवमी, नवरात्र तथा अन्य मेलामा भारतका किशनगञ्ज, अररिया, पूर्णिया, कटिहार, दार्जिलिङ र सिलिगुडी क्षेत्रबाट श्रद्धालु आउने गरेका छन् ।
माईबेनीमा पनि आन्तरिकसँगै भारतीय श्रद्धालुको उल्लेख्य उपस्थिति रहने गरेको छ । यी तथ्यले भारतीय धार्मिक पर्यटक कोशीमा सम्भावित ग्राहक होइनन्, उनीहरू अहिले नै कोशीमा आइरहेका बजार हुन् भन्न सकिन्छ । तर यहीँ अर्को विडम्बना छ । यति ठुलो धार्मिक आवागमनको व्यवस्थित तथ्याङ्क राज्यसँग छैन ।
- पर्यटक छन्, तथ्याङ्क छैन
पाथीभरा, हलेसी, वराहक्षेत्र, संसारी माईस्थान वा माईबेनीमा उल्लेख गरिने आगन्तुक सङ्ख्या सम्बन्धित व्यवस्थापन समिति, स्थानीय तह वा सरोकारवालाको अनुमानमा आधारित छ । भारतीयमध्ये कति आए, कहाँबाट आए, कति समय बसे, कति खर्च गरे भन्ने एकीकृत अभिलेख छैन । खुला सीमाका कारण यो समस्या अझ जटिल छ । पैदल, मोटरसाइकल र निजी सवारीबाट आउने भारतीय नागरिकको छुट्टाछुट्टै विवरण हुँदैन । तथ्याङ्क नहुँदाको असर बजेट विनियोजनदेखि पूर्वाधार निर्माण र प्रचार रणनीतिसम्म परेको छ । कुन गन्तव्यमा कति मानिस आउँछन् भन्ने थाहा छैन भने त्यहाँ कति लगानी आवश्यक छ भन्ने निर्णय पनि अनुमानमै हुन्छ ।
धर्म, स्वास्थ्य र प्रकृतिलाई एउटै बजारका रूपमा हेर्ने कि नहेर्ने ? भारतीय पर्यटकको सम्भावना धार्मिक स्थलमा मात्र सीमित छैन । कोशीमा स्वास्थ्य उपचारका लागि पनि भारतीय नागरिक उल्लेख्य सङ्ख्यामा आउने गरेका छन् । काँकडभिट्टा, विराटनगर र सुनसरीको भाण्टावारी नाकाबाट उपचारका लागि आउने भारतीयमध्ये आँखाको उपचार गर्नेको सङ्ख्या उल्लेख्य छ ।
स्वास्थ्य उपचारका लागि आएको व्यक्ति आफैँ परम्परागत पर्यटक नहुन सक्छ, तर ऊ नेपालमा बस्छ, होटलमा बस्न सक्छ, बजारमा खर्च गर्छ र उसका आफन्त पनि सँगै आउन सक्छन् । उपचारका क्रममा आएको परिवारले बराहक्षेत्र दर्शन गर्न सक्छ । विराटनगरमा आएको भारतीयले भेंडेटार घुम्न सक्छ । काँकडभिट्टाबाट आएको परिवार कन्याम पुग्न सक्छ । यसैगरी कोशीका उद्योग तथा कलकारखानामा काम गर्ने भारतीय श्रमिक र प्रदेशका मेडिकल कलेजमा अध्ययनरत भारतीय विद्यार्थी पनि भारतीय बजारसँग जोड्ने अर्को माध्यम हुन् ।
एउटा विद्यार्थीका अभिभावक नेपाल आउन सक्छन् । एउटा श्रमिकले आफ्ना आफन्तलाई घुमाउन ल्याउन सक्छ । उपचारका लागि आएको परिवारले धार्मिक गन्तव्य रोज्न सक्छ । अर्थात् धर्म, स्वास्थ्य, शिक्षा, उद्योग र प्रकृति अलग–अलग पर्यटन बजार होइनन्; एउटै भारतीय बजारका विभिन्न प्रवेशद्वार हुन् । तर प्रदेशको पर्यटन योजना अझै यी सम्भावनालाई एउटै सञ्जालमा जोडेर अघि बढेको देखिँदैन ।
- गन्तव्य छन्, गन्तव्य सर्किट छैन
कोशीको अर्को समस्या गन्तव्यको अभाव होइन । समस्या गन्तव्यहरूबिचको सम्बन्ध कमजोर हुनु हो । भेंडेटार आएका पर्यटकलाई अन्य गन्तव्यसँग कसरी जोड्ने ? बराहक्षेत्र आएको श्रद्धालुलाई कति दिन कोशीमा राख्ने ? विराटनगर उपचारका लागि आएको भारतीय परिवारलाई कुन धार्मिक वा प्राकृतिक गन्तव्यमा पठाउने ? पाथीभरा जाने यात्रुलाई बाटोमा र फर्किंदा अन्य कुन गन्तव्य देखाउने ?
यी प्रश्नको उत्तरसहितको एकीकृत पर्यटन सर्किट आवश्यक छ । अहिले भने पर्यटक एउटा गन्तव्यमा पुग्छ र त्यहीँबाट फर्किन्छ । यसले पर्यटकको सङ्ख्या बढे पनि स्थानीय अर्थतन्त्रमा त्यसको प्रभाव सीमित राख्छ । अहिलेको मुख्य चुनौती नै भारतीय पर्यटकको बसाइ लम्ब्याउनु हो । बिहान आउने बेलुका फर्किने, या एक रातसम्म बस्ने भोलिपल्ट बिहानै फर्किने अवस्थालाई परिवर्तन गर्न थप गतिविधि र गन्तव्य आवश्यक छ । यसको अर्थ होटल थप्नुमात्र होइन । पर्यटकलाई दुई दिन बस्ने बनाउनु मुख्य हो ।
- सडकदेखि शौचालयसम्म
भारतीय पर्यटकलाई कोशी ल्याउन प्रचार आवश्यक छ । तर प्रचार गरेर ल्याइएको पर्यटक गन्तव्यसम्म पुग्न नसक्ने अवस्था भयो भने प्रचार आफैँ उल्टो प्रभाव पार्न सक्छ । पाथीभरा पुग्न लामो र कठिन यात्रा गर्नुपर्छ । हलेसी जाने बाटो अझै सहज छैन । बराहक्षेत्रजस्तो नजिकको धार्मिक गन्तव्यसम्म पुग्ने सडकको अवस्था पनि पर्यटनमैत्री बन्न सकेको छैन । पार्किङ, सार्वजनिक शौचालय, विश्रामस्थल, सूचना केन्द्र र सङ्केत बोर्डजस्ता आधारभूत संरचनाको पनि आवश्यकता छ । बसोबासका लागि होटल, लज र होमस्टे विस्तार भइरहेका छन्, तर पर्यटन पूर्वाधारको अर्थ केवल होटल होइन । पर्यटकलाई गन्तव्यसम्म पुर्याउने सडक, गन्तव्यमा राख्ने पूर्वाधार र त्यहाँ समय बिताउने गतिविधि— यी तीन वटै एकैसाथ चाहिन्छ ।
- सरकारको लगानी कहाँ छ ?
यहीँ आएर कोशीको पर्यटन विकासको सबैभन्दा महत्त्वपूर्ण प्रश्न उठ्छ । प्रदेशमा पर्यटनका नाममा बजेट हरेक वर्ष छुट्ट्याइन्छ । धार्मिक तथा पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका योजना पनि बन्छन् । कतै प्रवेशद्वार बनाइन्छ, कतै पर्खाल, कतै सानो संरचना, कतै मन्दिर परिसरमा केही निर्माण हुन्छ, तर यस्ता योजनाले प्रदेशको पर्यटनको स्वरूप बदल्ने गरी कति प्रभाव पारेका छन् ? प्रश्न यही हो ।
पर्यटनका लागि छुट्ट्याइएको बजेट गन्तव्य विकासको रणनीतिमा केन्द्रित हुनुभन्दा साना–साना योजनामा छरिने प्रवृत्ति देखिन्छ । एउटै गन्तव्यलाई पूर्ण पर्यटकीय गन्तव्य बनाउने गरी सडक, पार्किङ, शौचालय, सूचना केन्द्र, विश्रामस्थल, सुरक्षा, आवास, स्थानीय उत्पादनको बजार र मनोरञ्जनात्मक गतिविधि एकै प्याकेजमा विकास गर्नेभन्दा अलग–अलग शीर्षकमा सानो रकम खर्च गर्ने प्रवृत्तिले तात्विक परिवर्तन ल्याउन सकेको छैन ।
कुनै धार्मिक स्थलमा ठुलो सम्भावना छ भने त्यसलाई पाँच–दश वर्षको योजनामा राखेर चरणबद्ध विकास गर्नेभन्दा बर्सेनि फरक–फरक साना योजना बनाउने हो भने पर्यटकले परिवर्तन महसुस गर्ने अवस्था आउँदैन । यस्तो लगानीले बजेट खर्च भएको देखाउँछ, तर पर्यटन गन्तव्य विकास भएको देखाउँदैन । अब कोशीले पर्यटन बजेट खर्च गर्ने शैलीमा नै परिवर्तन गर्नुपर्ने देखिन्छ ।
- अवसर ढोकामै
कोशीले भारतीय पर्यटक खोज्न धेरै टाढा जानुपर्दैन । सीमा जोडिएको छ । भाषा र संस्कृति मिल्छ । धार्मिक सम्बन्ध पुरानो छ । गर्मी छल्न पहाड छ । धार्मिक आस्थाका धाम छन् । स्वास्थ्य सेवा छ । उद्योग छन् । मेडिकल कलेज छन् । प्राकृतिक र सांस्कृतिक विविधता छ । भारतीय पर्यटक आउने आधार कोशीसँग पहिल्यै तयार छ । अहिले आवश्यकता त्यसलाई व्यवस्थित गर्ने हो ।
किरण कुमारजस्ता भारतीय युवा भेंडेटारको चिसो खोज्दै आइरहेका छन् । पाथीभरामा श्रद्धालुहरू आस्था बोकेर उक्लिरहेका छन् । बराहक्षेत्रमा लाखौँको भिड लागिरहेको छ । हलेसीमा भारतीय भक्तजन पुगिरहेका छन् । संसारी माईस्थान र माईबेनीमा सीमापारिका श्रद्धालुहरू आइरहेका छन् । उपचारका लागि भारतीय बिरामी आउँछन् । यहाँ अध्ययन गर्ने भारतीय विद्यार्थी छन् । उद्योगमा काम गर्ने भारतीय श्रमिक छन् । यी सबैलाई अलग–अलग घटना मानेर हेर्ने कि एउटै ठुलो पर्यटन सम्भावनाका रूपमा बुझ्ने भन्ने निर्णय अब सरकारको हो । कोशीको पर्यटनमा अहिले समस्या सम्भावनाको होइन, दृष्टिकोणको हो । पर्यटक आउँदैछन्, तर तथ्याङ्क छैन । गन्तव्य छन्, तर सर्किट छैन । बजेट छ, तर एकीकृत लगानी छैन । प्रचारको चर्चा छ, तर लक्षित बजार रणनीति कमजोर छ । होटल छन्, तर पर्यटकलाई लामो समय रोक्ने गतिविधि कम छन् ।
अब पनि पर्यटनका नाममा साना–साना योजना बनाएर बजेट छर्ने हो भने भारतीय पर्यटकको बढ्दो आगमनले कोशीलाई जति आर्थिक अवसर दिन सक्छ, त्यति लाभ लिन सकिने छैन । सरकारले अब ‘कति पैसा खर्च भयो’ भन्ने होइन, ‘कुन गन्तव्य कति बदलियो, कति पर्यटक थपिए, उनीहरूको बसाइ कति लम्बियो र स्थानीयले कति आम्दानी गरे’ भन्ने आधारमा पर्यटन योजनाको सफलता मापन गर्नुपर्छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।