पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका १७० जना बालबालिकालाई कास्कीका बालगृहहरूले संरक्षण दिने भएका छन्। बाढीका कारण अभिभावक गुमाएर सहाराविहीन बनेका बालबालिकाको संरक्षण र पालनपोषणका लागि कास्कीका बालगृहहरू अघि सरेका हुन्।
बालगृह सञ्जाल कास्कीका अनुसार जिल्लाका २५ वटा बालगृहले बाढीपीडित बालबालिकालाई दीर्घकालीन रूपमा आश्रय दिन तयारी गरेका छन्। राज्यले आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिम्मेवारी दिएमा बालबालिकालाई सुरक्षित वातावरणमा राखेर शिक्षा, स्वास्थ्य तथा पालनपोषणको व्यवस्था गर्ने जनाइएको छ।
बालगृहहरूले तत्काल १०८ जना बालबालिकालाई संरक्षण दिन सक्ने र आकस्मिक अवस्थाका लागि थप ६२ जनाको व्यवस्थापन गर्न सकिने बताएका छन्। विपद्का कारण परिवार गुमाएका बालबालिकाको भविष्य सुरक्षित बनाउन सम्बन्धित निकाय, स्थानीय तह र बालगृहबीच समन्वय आवश्यक रहेको बताइएको छ।
बालबालिकाको संरक्षण गर्दा उनीहरूको सुरक्षा, शिक्षा, स्वास्थ्य र मनोसामाजिक आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा समेत जोड दिइएको छ। राज्यको समन्वय र कानुनी प्रक्रियामार्फत बालबालिकालाई सुरक्षित आश्रय प्रदान गर्ने तयारी गरिएको हो।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।