काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयलाई नवप्रवर्तन, अनुसन्धान र प्रविधिको क्षेत्रमा अब्बल बनाउँदै समयसापेक्ष सुधार गरिने बताएका छन् ।
त्रिवि एलुम्नाई एसोसिएसनले बुधबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै त्रिवि उपकुलपति प्रा.डा. थापाले अबको शिक्षा साक्षरतामा मात्र सीमित नभई गुणस्तरीय र प्रतिस्पर्धी हुनुपर्नेमा जोड दिए |त्रिविसँग दक्ष र अनुभवी जनशक्ति रहेकाले देशको जेठो विश्वविद्यालयको नाताले राष्ट्रियस्तरमा नवप्रवर्तनको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो ।
विश्वविद्यालयको विद्यमान चुनौती र वित्तीय अवस्थाबारे चर्चा गर्दै उपकुलपति थापाले दरबन्दीको ५० प्रतिशत मात्रै शिक्षक तथा कर्मचारीको भरमा काम चलाउनुपरेको यथार्थ सार्वजनिक गरे ।
भौतिक संरचना र जनशक्तिको सीमितताका बाबजुद अझै पनि विद्यार्थीको पहिलो रोजाइ त्रिविनै रहेको उल्लेख गर्दै उनले विश्वविद्यालयको कुल बजेटको ५२ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाटै जुटाइएको बताए ।
बाँकी ४८ प्रतिशत रकम सरकार तथा अनुदानमा निर्भर रहेकाले त्रिविको भौतिक सम्पत्तिको समुचित उपयोग गरी आर्थिक रूपमा स्वावलम्बी बनाउनुपर्नेमा उनले जोड दिए ।
विश्वविद्यालयको भावी रणनीतिका सम्बन्धमा बोल्दै थापाले त्रिविलाई विकेन्द्रीकरण, स्वायत्तता र प्रादेशिक ढाँचामा लैजाने योजना अघि सारिएको जानकारी दिए ।
परीक्षा प्रणालीलाई पारदर्शी र गुणस्तरीय बनाउन केही अधिकार डिन कार्यालयहरूमा प्रत्यायोजित गरिएको तथा सेवा आयोगका रोकिएका अन्तर्वार्तालाई द्रुत गतिमा अघि बढाउन कार्यविधि परिमार्जन गरिएको उनले बताए ।
साथै, अन्तर्राष्ट्रिय र्याङ्किङमा शीर्ष एक हजारभित्रको स्थान कायम राख्दै विश्व संजालमा उपस्थिति मजबुत बनाउने र शिक्षक तथा कर्मचारीका लागि ‘एआई’ (कृत्रिम बौद्धिकता) सम्बन्धी तालिम सञ्चालन गर्ने लक्ष्यसमेत उनले प्रस्तुत गरे ।
त्रिवि सेवा आयोगले दुई वर्षदेखि बाँकी रहेका दुई हजार अन्तर्वार्ता लिइरहेको बताए। विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्यले प्यारालली अन्तर्वार्ता लिन सक्ने बाताबरण मिलाइएको थापाको भनाइ छ । एआइको अधिकतम प्रयोगबारे छोटो अवधिको तालिम शिक्षक, कर्मचारिलाई दिने सोंचमा रहेको बताए।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।