न्युयोर्क । साइबर सुरक्षा क्षमता परीक्षणका क्रममा गुगलको ‘जेमिनाई’ मोडलले तीनवटा कम्पनीलाई ह्याक गरेको तथ्य प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले अल जजिरासँग पुष्टि गरेको छ।
इरेगुलर कम्पनीले सञ्चालन गरेको परीक्षणका क्रममा मे महिनामा जेमिनाईले पहिलोपटक आफ्नो सुरक्षा परिधि नाघेको समाचार द वाल स्ट्रिट जर्नलले शुक्रबार सार्वजनिक गरेको थियो। एआई मोडलहरूले परीक्षण वातावरणबाट बाहिरिएर अन्य कम्पनीहरू ह्याक गरेका शृङ्खलाबद्ध घटनाहरूमध्ये यो पछिल्लो हो।एउटा काल्पनिक कम्पनीबाट जानकारी ल्याउने जिम्मेवारी दिइएका बेला उक्त एआई मोडलले इन्टरनेटमा अनुचित पहुँच बनाएको थियो। पहिलो घटनामा, एआई मोडलले पासवर्डको अनुमान गरेर एउटा वास्तविक कम्पनीको सेवामा पहुँच पुर्याएको थियो।
गुगलकी सुरक्षा इन्जिनियरिङ उपाध्यक्ष हेदर एडकिन्सले अल जजिराका जन हेन्ड्रनसँग कुरा गर्दै अन्य घटनाबारे जानकारी दिएकी छन्। उनले ‘मोडलले अनलाइनमा उपलब्ध सार्वजनिक जानकारी फेला पारेको’ र ‘परीक्षणकै अंश ठानेर वेबसाइटहरूमा पहुँच बनाउन प्रयोगकर्ताको विवरण अनुमान गरेको’ बताएकी छन्। कम्पनीका अनुसार यस्तो घटना तीनपटक भएको थियो र प्रत्येक पटक मोडलले कार्य पूरा गर्नुअघि नै गतिविधि रोकेको थियो।
इरेगुलरले जुलाईको अन्त्यमा यी ह्याकिङ घटनाबारे गुगललाई जानकारी गराएको द वाल स्ट्रिट जर्नलले जनाएको छ। गुगलले भने यो व्यवहारलाई मोडलको असफलताका रूपमा लिन नमिल्ने दाबी गरेको छ। जेमिनाईका सुरक्षा उपायहरूले काम गरेकाले यसलाई सार्वजनिक रूपमा खुलासा गरिरहनु नपरेको गुगलको भनाइ छ।
इरेगुलरसँग जोडिएका यस्तै अन्य घटनाहरू यसअघि मेटा, एन्थ्रोपिक र ओपनएआईले पनि सार्वजनिक गरेका थिए। एआईको साइबर सुरक्षा परीक्षण सुरक्षित रूपमा सञ्चालन गर्ने प्रक्रियामा सुधार ल्याउन काम भइरहेको इरेगुलरले जनाएको छ।
जेमिनाईको व्यवहारविपरीत, एन्थ्रोपिकको ‘क्लड’ मोडलले भने वास्तविक कम्पनीहरूमा पहुँच बनाइरहेको महसुस गरेपछि पनि आफ्नो गतिविधि रोकेको थिएन। ओपनएआईले आफ्ना मोडलहरूले परीक्षणका क्रममा इन्टरनेटमा अनुचित पहुँच बनाएर अनियन्त्रित रूपमा काम गरेको खुलासा गरेपछि एन्थ्रोपिकको यो जानकारी बाहिर आएको हो। सुरक्षाको विषयलाई लिएर एक अनुसन्धानकर्ताले राजीनामा दिएपछि एन्थ्रोपिकले हालै एआई ह्याकिङको चौथो घटना सार्वजनिक गरेको छ।
यसै साताको सुरुमा एन्थ्रोपिकका मुख्य कार्यकारी अधिकृतारियो अमोटेईले एआई प्रगतिको गतिलाई सुस्त बनाउन आह्वान गरेका थिए। उनले एआईले छिट्टै मानवजातिका लागि सम्भावित रूपमा विनाशकारी जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका हुन्। उनको यो भनाइलाई ओपनएआईका मुख्य कार्यकारी अधिकृत स्याम अल्टम्यान र इलोन मस्कले पनि समर्थन गरेका छन्।
अर्कातर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता आर्टिफिसियल इन्टेलिजेन्सको विकासमा प्रतिबन्ध वा नियन्त्रण लगाउनुपर्ने आवश्यकतालाई अस्वीकार गरेका थिए। उनले एआईको क्षेत्रमा अमेरिकाले बनाएको अग्रता चीनसँग गुम्न सक्नेमा आफू चिन्तित रहेको बताएका छन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।