दैनिक जीवनमा वाकवाकी लाग्ने वा बान्ता हुने समस्या हामीमध्ये धेरैले भोगेका हुन्छौँ । कहिलेकाहीँ खानपानमा गडबडी हुँदा, यात्रा गर्दा तथा गर्भावस्थाको समयमा बान्ता हुनुलाई सामान्य मानिन्छ, तर सबै प्रकारका बान्ता सामान्य हुँदैनन् ।
कतिपय अवस्थामा बान्ता गम्भीर रोगको प्रारम्भिक लक्षण हुन सक्छन् । बारम्बार बान्ता भइरह्यो, रगत देखियो, आलस्यपन महसुस भयो, श्वासप्रश्वासमा समस्या आयो भने गम्भीर रूपमा लिनुपर्छ र तत्काल अस्पताल लगिहाल्नुपर्छ ।बालबालिकामा भने बान्ता आउनु सामान्य मानिँदैन । यदि बच्चाले लगातार बान्ता गरिहन्छ भने पेटबाट आन्द्रामा जाने बाटोको मासु फुलेर ‘पाइलोरिक स्टेनोसिस’जस्तो जटिल समस्या आउन सक्छ । बान्ताबाट निस्किएको तरल पदार्थ श्वास नलीमा पस्यो भने श्वासप्रश्वासमा अवरोध पुग्न सक्छ । बान्ता भइरहे बच्चाहरुमा जलवियोजन (डिहाइड्रेसन) हुन सक्छ । वृद्धवृद्धामा भने लामो समयसम्म बान्ता भइरहेमा पाचन प्रणालीभित्र कतै ट्युमर पलाएको या क्यान्सर भएको त छैन भनेर आशङ्का गर्नुपर्ने हुन्छ ।
लगातार बान्ताले शरीरमा गम्भीर असर निम्त्याउँछ । बान्ता गर्दा खाना नली र मुखमा जोड्ने भागमा घाउ वा अल्सर हुन सक्छ । यसैगरी शरीरको आवश्यक पानी र खनिज पदार्थ बाहिरिने भएकाले डिहाइड्रेसन या जलवियोजन हुन सक्छ, विशेषगरी बालबालिकामा । मुख सुक्खा हुने, छालाको लचिलोपन हराउने, छटपटाउने र मष्तिस्कमा अक्सिजनको कमी भई झुम्मिएर बेहोस हुन खोज्नु डिहाइड्रेसनका मुख्य लक्षण हुन् । यस्तो अवस्थामा बिरामीलाई तत्काल अस्पताल पुर्याएर स्लाइन चढाउनुको विकल्प हुँदैन ।
- यात्रा गर्दा बान्ता हुने (मोसन सिकनेस) र गर्भावस्थामा बान्ता हुने समस्या
लामो दुरीको यात्रा गर्दा, विशेषगरी घुमाउरो बाटोमा बस वा कारको पछाडि सिटमा बस्दा धेरैलाई बान्ता हुने गर्छ, जसलाई ‘मोसन सिकनेस’ भनिन्छ । कानको भित्री भागमा तीन वटा सिलिन्डरजस्ता संरचना हुन्छन्, जुन इन्डोलिम्फ नामक तरल पदार्थले भरिएको हुन्छ । यसको मुख्य काम शरीर र टाउकोलाई गुरुत्वाकर्षणको तुलनामा सन्तुलनमा राख्नु हो । जब गाडी घुमाउरो बाटोमा कुद्छ, कानको तरल पदार्थ तीव्र रूपमा यताउता सर्छ, जसले गर्दा मष्तिस्कले शरीर कुन अवस्थामा छ भनेर ठम्याउन सक्दैन र भ्रम पैदा भइ बान्ता हुन्छ । यसैलाई मोसन सिकनेस भनिन्छ । धेरैले यात्रा गर्नुअघि आफैँ फार्मेसीबाट औषधि किनेर खाने गर्छन्, जसलाई ओभर द काउन्टर (ओटीसी) औषधि भनिन्छ, जसका लागि चिकित्सकको प्रेसक्रिप्सनविना नै किन्न सकिन्छ, तर निश्चित नियममा रहेर प्रयोग गर्न सकिन्छ ।
गर्भवती महिलामा विशेषगरी पहिलो तीन महिना (फस्ट ट्राइमेस्टर) मा वाकवाकी लाग्ने र बान्ता हुने समस्या अत्यधिक देखिन्छ । यो एचसीजी नामक हर्मोन बढेका कारण हुन्छ । यो हर्मोन गर्भाशयमा बच्चालाई सुरक्षित राख्न आवश्यक भए पनि यसले मष्तिस्कको ‘क्यामोरिेसेप्टर ट्रिगर जोन’ मा असर गर्दा वाकवाकी लाग्ने गर्छ । पहिलो पटक आमा बन्न लागेका महिलामा यो बढी देखिए पनि पछिल्लो गर्भावस्थामा बिस्तारै घट्दै जान्छ । गर्भावस्थाको वाकवाकीलाई सामान्य मानिए पनि यदि बान्ताका कारण आमा र बच्चा दुवैलाई असर पर्ने गरी डिहाइड्रेसन भएमा अस्पताल भर्ना हुनुपर्छ । गर्भावस्थाको सुरुआती चरणमा जथाभावी औषधि खान निषेध भएकाले चिकित्सकको कडा निगरानीमा मात्र सुरक्षित औषधि र स्लाइनको प्रयोग गर्नुपर्छ ।
- ध्यान दिनुपर्ने कुरा
वृद्धवृद्धामा वान्ता भयो भने गम्भीर मानिन्छ । खासगरी बान्ता एक–दुई दिन होइन, लगातार आयो भने जीआइ ट्रयाक अर्थात् पाचन प्रणालीमा क्यान्सर छ कि भनेर शङ्का गर्नुपर्ने हुन्छ । बालबालिकामा पनि गम्भीर अवस्था देखिन थाल्यो भने आमाको दुध खुवाएर या स्लाइन पानी दिएर ठिक गर्न सकिन्छ ।
मानिसहरुले बान्तालाई सामान्य रूपमा लिने र घरेलु उपचारमै भर पर्ने गर्छन्, तर गम्भीर खालका रोगका कारण पनि बान्ता हुन सक्छ । बान्ता सामान्य ग्यास्ट्रिकदेखि आन्द्रा खुम्चने वा बन्द हुने (इन्टेस्टाइनल अब्स्ट्रक्सन), आन्द्राको क्षयरोग, क्रोन्स डिजिज र क्यान्सरजस्ता जटिल रोगको लक्षण हुन सक्छ । दैनिक जीवनमा जङ्कफुड, अत्यधिक चिल्लोपिरो खानेकुराको सेवन घटाए पोषणयुक्त सन्तुलित खाना खाने गरेमा ग्यास्ट्राइटिसको समस्याबाट धेरै हदबाट जोगिन सक्छ । तसर्थ, कुनै पनि प्रकारको बान्तालाई बेवास्ता नगरी समयमै अस्पताल गएर सम्बन्धित विशेषज्ञसँग परामर्श र सही परीक्षण गराउनु नै उचित उपाय हो ।
(डा. सत्याल नर्भिक अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट हुन्)
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।