ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । सरकारले ल्याएको राहत प्याकेजमा बाढीपीडितहरूले असहमति जनाएका छन् ।

सरकारले राहत तथा पुनर्स्थापनाका लागि पीडितका लागि विभिन्न सर्त राखेपछि बाढीपीडित आक्रोशित बनेका हुन् । सरकारले ल्याएको राहत तथा पुनर्स्थापनाअन्तर्गत विभिन्न बुँदामध्ये तपसिल राखेर सर्त राखेको छ । विस्थापितका लागि सरकारले व्यवस्थापन गरेको ठाउँमा मञ्जुर हुनुपर्ने सर्त राखिएको छ ।

सरकारले पीडितका लागि राखेको पहिलो सर्तमा नेपालभर आफ्नो र आफ्नो परिवारको नाममा बसोबासयोग्य घर नभएको साथै बसोबास र जीविकोपार्जनका लागि अन्यत्रबाट अनुदान प्राप्त नगरेको स्वःघोषणा गरेको हुनुपर्ने भनेको छ ।

दोस्रो बुँदामा सरकारले अस्थायी आवासको व्यवस्थापन गरेमा उक्त आवासमा बस्न मञ्जुर भएको र त्यसपश्चात् बसोबास र जीविकोपार्जनको अनुदान दाबी नगर्ने प्रतिबद्धता जनाउनुपर्ने उल्लेख छ । नुवाकोट विदुर १० बेत्रावतीका योगेश डंगोलले सरकारले ‘दिन्न भन्दैनौ, यसरी लिन मान्छौ कि मान्दैनौ ?’ भन्दै प्रश्न गरेका छन् । सरकारले पीडितलाई राहत दिने नाममा हलो अड्काउने काम गरेको भन्दै आक्रोश पोखेका हुन् ।

उनले भनेका छन्, ‘नेपालभित्र अलि पर बचेको खोस्रेर खाने सानो गोठघर बारी केहीको पक्कै छ, त्यति रहेकै भरमा पीडितले अर्को दुख खेप्नुपर्ने देखियो ।’

भदौ १० को भोटेकोशी बाढीका दिन योगेश मुस्किलले बचेका थिए । बाढीले उनको बेत्रावतीमा रहेको घण्टीघर बाढीले तहसनहस बनाएको छ । आफ्नो ठाउँ बेत्रावतीलाई केही गरौँ भन्दै कहिले झोलुंगे पुल निर्माण कहिले मन्दिर निर्माणमा संलग्न डंगोलले गाउँका सबैलाई समयको सूचना दिऊँ भनेर आफ्नै घरमा ठुलो घडी राखेका थिए । तर, उक्त घर भोटेकोशी बाढीमा क्षति पुगेको छ ।

बाढीबाट विस्थापित नुवाकोट किस्पाङ गाउँपालिकाका जीवन श्रेष्ठ सरकारले ल्याएको राहत तथा पुनर्स्थापनाको कार्यक्रम पीडितमैत्री नभएको बताउँछन् । उनले प्रश्न गरे, ‘अरूलाई कति चित्त बुझ्यो थाहा छैन, मलाई सरकारको योजना चित्त बुझेन ।’

घरपरिवार गुमाएर बाढीबाट विस्थापित नुवाकोट विदुर–७ सोलेका स्थानीय अस्विन रैला पनि सरकारले ल्याएको योजना पीडितमैत्री नभएको बताउँछन् । ‘सरकारले राहत तथा पुनर्स्थापनाको योजना त ल्यायो तर, हातखुट्टा बाँधेर ल्याएको जस्तो भयो,’ उनले भने, ‘सिंगो गाउँ बगरमा परिणत भएको छ, घरजग्गा र परिवार गुमाएका हामी पीडितका लागि सरकारले मलम लगाउनुपर्नेमा राहत लिने भए मेरो सर्त पूरा गर भन्नु गलत हो,’ पीडित रैलाले भने ।

रसुवा उत्तरगया गाउँपालिकाका सुरेन्द्र आचार्यको पनि उस्तै गुनासो छ । बाढीले घरजग्गा विस्थापित भएपछि हाल उनी काठमाडौँमा बसिरहेका छन् । काठमाडौँमा कोठा खोजेर बसोबास गरिरहेका आचार्य हाल विस्थापित परिवारको पुनर्स्थापना र राहतको कार्यक्रमबाट सन्तुष्ट छैनन् । बाढीबाट सर्वस्व गुमिसक्यो, यस्तो अबस्थामा पहिला मैले कहीँबाट दाताले दिएको सहयोग लिएको छैन भन भनेर सर्त राख्ने र बसोबास गर्ने ठाउँ नभए मात्रै राहत दिन्छु भन्नु सरकारको गैरजिम्मेवारको पराकाष्ठ हो,’ आचार्य भन्छन्, ‘सिंगो बस्ति नै सखाप भइसक्यो अब पनि राहतको नाम सर्त राख्नु गलत छ ।’

राहत र पुनर्स्थापनामा मात्रै होइन, मृत्युदर्तामै झमेला

सरकारले एकातिर राहत तथा पुनर्स्थापनाका लागि पीडितलाई सर्त अगाडि सारिरहेका बेला आफ्नो प्रियजन हराएर नभेटिएपछि काजकिरिया पूरा गरेकाहरूको मृत्युदर्ता नहुँदा अर्को झमेला थपिएको छ । नुवाकोट विदुर नगरपालिका–७ का राजकुमार भट्टले भोटेकोशी बाढीमा हराएका आफ्नो परिवारको काजकिरिया पूरा गरेपछि मृत्युदर्ता गरे पनि जिल्ला प्रहरीले स्वीकार गरेन । झन्झटिलो कानुनी अड्चनका कारण भट्ट मात्रै होइन’ धेरैले अहिले आफ्नो गुमेका आफन्तको मृत्युदर्ता गर्न सकिरहेका छैनन् ।

विदुर–७ का वडाध्यक्ष रविन्द्र नेपाल आफ्ना वडाका पीडित परिवारलाई मृत्युदर्ताका लागि सहजीकरण गरे पनि प्रहरीकाले कानुन पढ्न अनि मात्रै मृत्यु दर्ता गर्न भनेर आफूलाई फोनमार्फत भनेका बताए । त्यसैकारण मृत्युदर्ता प्रक्रिया रोकिएको उनको भनाइ छ । मैले सकेसम्म पीडितलाई सहजीकरण गरिदिएकै छु तर कतिपय कुरा राज्यले कानुनी अड्चन देखाउँदा आफू समस्यामा परेको नेपाल बताउँछन् ।

भोटेकोशी बाढी आएर सिंगो बस्ती नै तहसनहस बनाएदेखि नै वडाध्यक्ष नेपाल विस्थापित परिवार र मृतक परिवारको राहतका लागि अहोरात्र खटिरहेका छन् । बाढीबाट वडाध्यक्ष नेपाल आफै विस्थापित हुन् ।

व्यक्तिको मृत्यु भएको प्रमाण कानुनी र प्रशासनिक प्रयोजनका लागि पेस गर्न, चलअचल सम्पत्तिको हक हस्तान्तरण वा अधिकार प्रत्यायोजन लगायतका लागि मृत्युदर्ता गराउनुपर्छ । सामाजिक सुरक्षा भत्ता लिन, विधवा प्रमाणित हुन तथा राज्यबाट प्रदान गरिने अन्य सेवासुविधा लिन पनि मृत्युदर्ता गर्नुपर्ने व्यवस्था छ ।

कानुनी झन्झटले हैरानी

हालको कानुनी व्यवस्था अनुसार बेपत्ता भएका र हराएको हकमा मृत्युदर्ता गर्न मिल्दैन । यस्ताको हकमा १२ वर्ष वा विशेष परिस्थिति (विपत्)मा तीन वर्षपछि मृत्युसरह मानिने व्यवस्था छ । यसबाहेक अदालतबाट मृत्युको न्यायिक घोषणाको प्रमाणपत्र ल्याएमा त्योभन्दा अगाडि नै मृत्युदर्ता गराउन मिल्छ ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ४० अनुसार कुनै व्यक्ति बिनासूचना लगातार १२ वर्षदेखि बेपत्ता भए मृत्यु भएको मानिन्छ । तर, ८० वर्ष उमेर भएका व्यक्तिका हकमा पाँच वर्ष, दुर्घटना (विपतका घटनासहित) भएको वायुयान, पानीजहाज वा अन्य सवारीसाधनमा यात्रा गरेको व्यक्ति भए दुर्घटना भएको तीन वर्षमा मृत्युसरह मानिने कानुनी व्यवस्था छ ।

त्यस्तै, विपत् वा दुर्घटनामा परेको भनेर ‘न्यायिक घोषणा गरिपाऊँ’ भनी अदालत जान पनि पाइन्छ । बेपत्ता भएको मिति, ठेगाना, कारण र आधारसहित निवेदन दिएमा अदालतले मृत्युको न्यायिक घोषणा गर्न सक्ने प्रावधान छ ।

मृत्युदर्ता बनाउन बुवाआमा, पतिपत्नी, छोरा वा छोरी र उनीहरूको परिवारका सदस्य (१८ वर्ष पुगेका) सूचक बन्न पाउने कानुनी व्यवस्था छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय