सरकार बनेको झण्डै ८ महिनापछि प्रधानमन्त्री वालेन्द्र शाहले मंसिर पहिलो साता भारतको औपचारिक भ्रमण गर्ने सम्भावना बढेको उच्च स्रोतले बताएको छ ।नोभेम्बर २३ (मंसिर ७) देखि बालेनले भारतको औपचारिक भ्रमण गर्ने मोटामोटी तय भएको एक उच्च राजनीतिक स्रोतले लोकान्तरलाई जानकारी दियो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै गरेको भारत भ्रमणमा बालेनको भारत भ्रमणबारे छलफल भएको स्रोतको दाबी छ ।प्रधानमन्त्री बालेनको यो भम्रणपछि मात्र नेपालमा नयाँ सरकार बनेपछिको सन्दर्भमा नेपाल–भारत सम्बन्धको दिशा र दशा तय हुनेछ’, स्रोतले भन्यो ।
बिहीबार दिल्ली गएका वाग्लेले शुक्रवार भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका थिए । उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमण लगायतसँग भेटवार्ता गरेका थिए ।
यसअघि नेपालको तर्फबाट भएका मन्त्रीस्तरीय भारत भ्रमणलाई खासै उपलब्धिमूलक मानिएको छैन । सरकार बनेलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण गरेका थिए ।
प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले दिल्ली पुगेर भारतीय अधिकारीसँग भेटेको विषय चर्चामा आए पनि दुवै देशका अधिकारीहरूले त्यसको औपचारिक पुष्टि गरेका छैनन् ।
भारत सरकारले बालेनलाई यसअघि नै निमन्त्रणा पठाइसकेको बताएको थियो ।केही भारतीय मिडियाले पनि सन् २०२६ को अन्तिमसम्ममा बालेनले भारत भ्रमण गर्ने लेखेका छन् ।
दी इन्डियन एक्सप्रेसले नोभेम्बरमा भ्रमण गराउनेबारे दुवै देशले तयारी थालेको लेखेको छ ।यस्तैदी इकोनमिक्स टाइम्सले यसै वर्षको अन्तिमसम्ममा भ्रमण हुन सक्ने उल्लेख गरेको छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।