बर्दिया,असोज ०६ / बर्दियालाई चिनाउन ठाकुरद्वारामा ‘बर्दिया डिजिटल मेला’ कथादेखि यात्रासम्म आयोजना गरिएको छ ।
सोसल मिडियाको युगमा बर्दियामा रहेका कथा, संस्कृति र यहाँका पर्यटकीय क्षेत्रको डिजिटल माध्यमबाट व्यापक रूपमा प्रचारप्रसार गरी देश–विदेशमा चिनाएर अधिकभन्दा अधिक आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले ‘बर्दिया डिजिटल मेला’ कथादेखि यात्रासम्म आयोजना गरिएको हो । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा द एसिया फाउन्डेसनको सहयोगमा आइतबार ठाकुरद्वारामा डिजिटल मेला सम्पन्न भएको हो ।
डिजिटल मेलामा देशभरका तमाम चर्चित कन्टेन्ट क्रियटरहरूको सहभागिता रहेको थियो । डिजिटल मेलामा नेपालका चर्चित एवं स्थापित कन्टेन्ट क्रियटर हेमन्त भण्डारी र आश्विन न्यौपानेले बर्दियालाई बाघबाहेक यहाँको कल्चर र स्थानीय खानाका परिकारले समेत चिनाउन सकिने बताएका थिए ।
यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा मन्दिरलगायत पर्यटकीय क्षेत्र, यहाँको संस्कृति र स्थानीय खानाका परिकारलगायतका हरेक कुराको राम्रो कन्टेन्ट बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन सकिने उनीहरूले धारणा राखेका थिए ।
कन्टेन्ट क्रिएट गरी यहाँका कथाहरूलाई निरन्तर रूपमा बाहिर ल्याउन स्थानीय कन्टेन्ट क्रियटरहरूलाई राम्रो अवसर रहेको चर्चित कन्टेन्ट क्रियटरहरूले बताएका थिए ।
प्रकृतिले हामीलाई प्रकृति र संस्कृति दुवै चिज दिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताए । ‘ठाकुरबाबा नगरपालिकाको समुन्नतिका लागि कृषि र पर्यटन प्रमुख आधार भएकाले त्यसअनुरूपका गतिविधि अघि बढाइरहेका छौं,’ नगर प्रमुख लम्सालले भने, ‘यहाँको प्रकृति र संस्कृतिलाई विश्वमा चिनाउनका लागि बर्दिया डिजिटल मेलाको आयोजना गरिएको हो ।
’ यस मेलाले यहाँ लुकेर रहेका कथा बाहिर ल्याएर विश्वमा चिनाउन मद्दत पुग्ने नगर प्रमुखले बताए ।स्रोत ईकान्तिपुर
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।