बुटवल । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल गौतमले आसन्न १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन हुने बताएकी छन्।
वर्तमान आवश्यकता र समयको मागअनुसार कांग्रेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिसँग थप जोड्न थापाको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।मंगलबार सन्धिखर्कमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा भुसालले कांग्रेसका कार्यकर्ता र आम जनताले थापालाई सभापतिको भूमिकामा हेर्न चाहेको दाबी गरिन्। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यमा भने सबै पक्षलाई सम्मानजनक रूपमा समेटेर अघि बढ्नुपर्ने उनले बताइन्।विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि तथा महाधिवेशन प्रक्रियालाई लिएर जारी विवाद समाधान गर्दै सबै पक्षलाई महाधिवेशनमा सहभागी गराउनुपर्ने उनको भनाइ छ। पार्टीलाई बलियो बनाउन कुनै पनि नेता वा समूहलाई बाहिर राख्न नहुने उनले बताइन्।
पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्मानित अभिभावकका रूपमा स्वीकार गरेर अघि बढ्न आफूहरू तयार रहेको भुसालले बताइन्।१५औँ महाधिवेशन उद्घाटनका लागि देउवालाई आग्रह गरिएको जानकारी दिँदै उनले पार्टी र लोकतन्त्र निर्माणमा देउवाले पुर्याएको योगदानको सम्मान गर्नुपर्ने धारणा राखिन्।
देउवाले महाधिवेशन उद्घाटन गरे कांग्रेसभित्र एकताको सन्देश जाने र पार्टी थप बलियो हुने भुसालको भनाइ छ। देउवा महाधिवेशनमा सहभागी हुनेमा आफूहरू विश्वस्त रहेको उनले बताइन्।महाधिवेशनमा सहभागी हुन नसकेका वा असन्तुष्ट रहेका नेताहरूलाई समेत महाधिवेशनपछि सम्मानजनक भूमिकामा समेट्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिइन्।
अधिकांश वडामा सहमतिमार्फत नेतृत्व चयन भएकाले वडा अधिवेशनले पार्टीपंक्ति र कार्यकर्तामा उत्साह जगाएको भुसालले बताइन्। यही उत्साहलाई महाधिवेशनसम्म कायम राख्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।