काठमाडौँ — भारी वर्षाका साथै भारी हिमपातको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरूलाई तत्काल फर्केर सुरक्षित स्थानमा बस्न तथा जाने तयारी गरेकाहरूलाई हालका लागि यात्रा स्थगित गर्न आग्रह गरेको छ ।
त्यस्तै, महाशाखाका मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढी/पहिरोको जोखिम हुने भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपास रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भई पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिन्छ । यसको प्रभावस्वरूप बुधबारबाटै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै गएको छ ।
‘पानी त देशैभरि पर्छ र सबै प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ,’ महाशाखाका मौसमविद् हरिप्रसाद ढकालले भने, ‘अति भारी वर्षा र अति भारी हिमपातको सम्भावना गण्डकी र लुम्बिनी प्रदेशमा छ, त्यसैले सतर्कता अपनाऔँ ।’
गण्डकी प्रदेशको हिमाली क्षेत्र पदयात्राका लागि प्रख्यात छ । यहाँ बाह्रै महिना विदेशी तथा स्वदेशी पर्यटक, गाइड र भरियाहरू पुग्ने गर्छन् । प्रसिद्ध अन्नपूर्ण, मनास्लु सर्किट, अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल र तिलिचो ताल लगायतका गन्तव्य यही क्षेत्रमा पर्छन् ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।