काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षणिक सत्र २०८२ का सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकहरूको सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगन गरेको छ । कलेज प्रशासनले बिहीबार सूचना जारी गर्दै सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगन गरिएकाे जानकारी दिएकाे हाे ।
साे कलेजले हालको शैक्षिक तथा संस्थागत स्थितिलाई दृष्टिगत गरी यी चिकित्सकहरूलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानसँग औपचारिक अनुरोध गरिसकिएको समेत जनाएको छ।
अर्को सूचना जारी नभएसम्मका लागि प्रथम वर्षका आवासीय चिकित्सकहरूको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटी लगायतका सम्पूर्ण गतिविधिहरू तत्काल प्रभावबाट स्थगन रहने कलेजले स्पष्ट पारेको छ।
साथै, कलेजले प्रथम वर्षका सम्पूर्ण स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई सूचना जारी भएको १२ घण्टाभित्र छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा खाली गर्न कडा निर्देशन दिएको छ । चिकित्सकहरूले आफूसँग रहेको कलेजको सम्पूर्ण सम्पत्ति छात्रावास वा प्रशासन कार्यालयमा बुझाई तोकिएको समयभित्र आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामानसमेत हटाइसक्नुपर्नेछ ।
अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने यो निर्णयको पालना गर्न सम्बन्धित सबैलाई अस्पताल प्रशासन तथा प्रधानाचार्य कार्यालयले आग्रह गरेको छ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।