क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए पनि ठोस उपलब्धिका हिसाबले भने सीमित देखिएको छ।

सीलाई स्वागत गर्न ट्रम्प आफै विमानस्थल पुगेका थिए। अमेरिकी राष्ट्रपति कुनै विदेशी नेताको स्वागत गर्न विमानस्थल पुगेको यो ६४ वर्षयताकै पहिलो घटना हो।

यसअघि सन् १९६२ मा तत्कालीन राष्ट्रपति जोन एफ. केनेडीले बेलायती प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनलाई एन्ड्र्युज एयर फोर्स बेसमा पुगेर स्वागत गरेका थिए।

सीलाई स्वागत गर्न ट्रम्प अहिले जोइन्ट बेस एन्ड्र्युज भनिने सोही विमानस्थलमा पुगेका थिए। तर सीको यो भ्रमणमा ऐतिहासिक तामझाम भए पनि उपलब्धि भने खासै केही भएन।वासिङ्टनमा बिहीबार भएको भेटवार्ताको सबैभन्दा महत्त्वपूर्ण घोषणा दुई नेताको भेटअघि नै भएको थियो।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सीको विमान अमेरिकामा अवतरण गरे लगत्तै अमेरिका र चीनबीच जारी व्यापार युद्धविराम थप दुई महिनाका लागि लम्ब्याइएको जानकारी दिएका थिए।व्यापारमा थप महसुल कटौती, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी नयाँ संवाद संयन्त्र लगायत अपेक्षित विषयमा भने कुनै ठोस घोषणा भएन।

हङकङको सेयर बजारमा चिनियाँ कम्पनीका सेयरसमेत ओरालो लागे। लगानीकर्ताले वार्ताबाट अपेक्षित प्रगति नभएको संकेतका रूपमा यसलाई हेरिएको ब्लुमबर्गले जनाएको छ।

ट्रम्पले भने भेटवार्ताका क्रममा सीलाई बारम्बार ‘मित्र’का रूपमा प्रस्तुत गरे। उनले सीसँग आफ्नो वास्तवमै राम्रो मित्रता रहेको बताए। सीले पनि अमेरिकी कम्पनीको चीनमा लगानी स्वागत गर्ने र अमेरिकामा चिनियाँ कम्पनीलाई निष्पक्ष व्यवहार गरिनुपर्ने धारणा राखे।

राजकीय भोजमा ट्रम्पले सीलाई अमेरिकाको राष्ट्रिय प्रतीक बाल्ड इगलको मूर्ति उपहार दिए। उनले आफू र सीको अहिलेको भन्दा राम्रो सम्बन्ध पहिला कहिल्यै नभएको बताए। त्यसपछि ट्रम्पले निर्धारित कार्यक्रमभन्दा बाहिर गएर सीलाई ह्वाइट हाउसमा निर्माणाधीन बलरूमको अवलोकन गर्नसमेत निम्तो दिए।

ट्रम्पले सीलाई ह्वाइट हाउसको दक्षिणी लनमा बनाइएको हेलिप्याड देखाए र सीलाई राष्ट्रपतिको हेलिकप्टरभित्र समेत लगे। त्यसैबीच बलरूम निर्माणका लागि प्रयोग भइरहेका भारी मेसिनको आवाज ह्वाइट हाउस परिसरमा सुनिन्थ्यो।

यसअघि सन् २०१५ मा चिनियाँ राष्ट्रपति सीको अमेरिका भ्रमणका क्रममा तत्कालीन राष्ट्रपति बाराक ओबामाले विस्तृत पत्रकार सम्मेलन गरेका थिए। मानव अधिकारदेखि द्विपक्षीय सम्बन्धका विभिन्न संवेदनशील विषयमा उनले सार्वजनिक रूपमा चर्चा गरेका थिए। यसपटक भने ट्रम्पले मानव अधिकारको विषय उल्लेख गरेनन् र हङकङका जेलमा रहेका प्रजातन्त्र अभियन्ता जिमी लाइबारे पत्रकारले सोधेका प्रश्नलाई पनि जवाफ दिएनन्।

एआई र ताइवानबारे मतभेद

वार्तामा एआई पनि महत्वपूर्ण विषय थियो। तर ट्रम्पले एआईलाई लिएर तत्काल कुनै नयाँ सहमति आवश्यक नरहेको संकेत गरे। उनले एआईलाई ‘सुपर इन्टेलिजेन्स’ भन्दै यो विषयलाई अहिले जहाँ छ, त्यहीँ राख्न आफू र सी सहमत रहेको बताए।

सीले भने एआई विकासमा मानव नियन्त्रण कायम राख्नुपर्ने र दुई देशबीच संवाद जारी राख्नुपर्ने धारणा राखे।

ताइवानको विषयमा पनि दुई पक्षबीच मतभेद कायमै देखिएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले अमेरिकालाई ताइवानको स्वतन्त्रताको विरोध गर्ने आफ्नो पुरानो नीतिमा कायम रहन आग्रह गरेका छन्।

सुरक्षा र रक्षा मामिलामा भने ट्रम्प तुलनात्मक रूपमा संयमित देखिए। चीनले अमेरिका विरुद्ध जासुसी गरेको आरोपबारे ट्रम्प सहज सुनिए। ‘ हामीले जे गर्छौं, उनीहरूले त्यही गर्छन्’ उनले भने। चीनले जासुसी गर्छ भने अमेरिका पनि चीनको जासुसी गर्ने गरेको ट्रम्पले बताएका थिए।

व्यापार युद्धविराम दुई महिना थप

दुई देशबीचको व्यापार युद्धविराम अब जनवरी १० सम्म कायम रहनेछ। गत वर्ष सुरु भएको व्यापार तनावका क्रममा अमेरिकाले चिनियाँ सामानमा उच्च भन्सार महसुल लगाएको थियो भने चीनले दुर्लभ खनिजको निर्यातमा नियन्त्रण बढाएको थियो।

व्यापार युद्धविराम अन्तर्गत चीनले अमेरिकाबाट थप भटमास खरिद गर्ने र फेन्टानिल बनाउन प्रयोग हुने रसायनको प्रवाह रोक्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। तर अमेरिकी अधिकारीहरूले चीनले ती प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन नगरेको गुनासो गर्दै आएका छन्।

बेसेन्टले थप दुई महिनाको समयलाई चीनसँग प्रतिबद्धता कार्यान्वयनका विषयमा दबाब बढाउन प्रयोग गर्ने बताएका छन्। उनले चीनले प्रस्ताव गरेको ठूलो व्यापार सम्झौताबारे पनि अमेरिका विचार गरिरहेको संकेत गरेका छन्।

दुवै पक्षबीचको अर्को महत्वपूर्ण पक्ष भने भेटवार्ताको निरन्तरता हो। अमेरिकी पक्षका लागि आगामी नोभेम्बरमा चीनको शेन्जेनमा हुने एपीईसी शिखर सम्मेलन र डिसेम्बरमा मायामीमा हुने जी–२० शिखर सम्मेलनमा ट्रम्प–सी भेटवार्ताको सम्भावना छ।

यसपटकको शिखर भेटवार्ताबारे ब्रुकिङ्स इन्स्टिच्युसनका चीन मामिला विज्ञ रायन हासले दुई नेताबीचको वास्तविक नीतिगत छलफलको समय असामान्य रूपमा छोटो रहेको टिप्पणी गरेका छन्। उनका अनुसार यसपटकको भ्रमणमा ‘तामझाम’ नै मुख्य पक्ष बनेको देखिन्छ।

दुवै देशका लागि तत्काल तनाव घटाउनु उपयोगी देखिन्छ। ट्रम्प इरानसँगको युद्ध र आगामी मध्यावधि निर्वाचनका विषयमा व्यस्त छन् भने सी चिनियाँ अर्थतन्त्रको सुस्त गति र आगामी वर्ष हुने कम्युनिस्ट पार्टीको महाधिवेशनको तयारीमा केन्द्रित छन्।

त्यसैले यसपटकको ट्रम्प–सी भेटवार्ताको तत्काल परिणाम कुनै ठूलो सम्झौताभन्दा पनि दुई देशबीचको सम्बन्धलाई थप बिग्रन नदिने प्रयासमा सीमित भएको देखिन्छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

सर्पदंश उपचारमा भरोसाको केन्द्र बन्दै भेरी अस्पताल

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति...

बाढीको जोखिम बढेपछि राप्ती सोनारीमा २ हजारलाई आश्रय दिने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भारी वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित...

भारी वर्षाले कांग्रेस अधिवेशन प्रभावित

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की,...

ट्रम्प–सी भेटवार्ता : तामझाम धेरै, उपलब्धि थोरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए...

सुनवलमा कांग्रेस नगर अधिवेशन रोकियो, मतदानको नयाँ मिति अझै अनिश्चित

बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ।...

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...
लोकप्रिय