बागलुङ । निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बागलुङ, पर्वत र म्याग्दीले आग्रह गरेको छ ।
मुस्ताङतर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको जनाउँदै प्रहरीले नदी किनार तथा जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको हो । कालीगण्डकीको आसपासमा पर्ने म्याग्दीको बेनी, बागलुङको नियरघाट, मालढुङ्गालगायत स्थानका नागरिकलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।
शनिबार बिहानैदेखि कालीगण्डकीमा पानीको सतह अघिल्लो दिनभन्दा झनै बढेको छ । मोदी र काली मिसिने पर्वतको मोदीवेणीमा कालिगण्डकीले चेतावनी तह पार गरेको छ । यहाँ ७ मिटर चेतावनी तह रहेकोमा पानीको सतह ७.७५ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पानीको सतह घट्ने क्रममा रहेपनि सतर्क रहन महाशाखाले आग्रह गरेको छ । कालीगण्डकी बहने अन्य ठाउँमा भने पानीको सतह चेतावनी तहभन्दा तल रहेपनि बढ्दो क्रममा छ न वटै जिल्लाका प्रहरीले तटीय क्षेत्रमा माइकिङसमेत गरेर स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिरहेका छन् ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।