ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज विभिन्न जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुने भएको छ।असोज १० गतेका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक वर्षाका कारण १३ गतेभित्र गर्न निर्वाचन समितिले विकल्प दिएको थियो।

आज १३ जिल्लामा, भोलि २९ जिल्लामा र पर्सी ९ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।

उनका अनुसार आज झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतसहित १३ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको हो।

त्यसैगरी सोमबार १२ गते ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीसहित २९ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ।

समितिलाई प्राप्त विवरणअनुसार पर्सी १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेख गरी ६ जिल्लामा र १४ गते इलाममा क्षेत्रीय अधिवेशन गर्ने तय भएको छ।

अन्य १७ जिल्लाले भने पूर्वनिर्धारित तालिकाअनुसार शनिबार १० गते नै अधिवेशन गरेको विवरण केन्द्रीय निर्वाचन समितिलाई प्राप्त भएको उनले जानकारी दिएका छन्।

सदस्य सचिव कटुवालका अनुसार निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरासहित ४ जिल्लाको नतिजा नै आइसकेको छ भने अन्य १३ जिल्लामा निर्वाचनको प्रक्रिया हिजोदेखि नै चलिरहेको छ।

क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेका अन्य ३ जिल्लामा मनाङ, मुस्ताङ र बैतडी रहेका छन्। त्यसैगरी संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जुम्ला, डोटी, दार्चुला र कञ्चनपुरमा भने आज पनि निर्वाचनको प्रक्रिया चलिरहेको छ।

अन्य केही जिल्लामा भने मिति तय नभए पनि १३ गतेभित्र गरिसक्न भनिएकाले त्यतिबेलासम्म भइसक्ने निर्वाचन समितिले दाबी गरेको छ ।

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुने भएकाले यसलाई महत्वपूर्ण अधिवेशनको रूपमा लिइन्छ।

अधिकांश नेता तथा कार्यकर्ताहरू महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका छन्।

केन्द्रीय महाधिवेशन तथा महासमिति बैठकमा सहभागी हुन र केन्द्रीय कार्यसमितिमा उम्मेदवार हुन पनि महाधिवेशन प्रतिनिधि हुनै पर्ने भएकाले महाधिवेशन प्रतिनिधिका लागि ठूलो भिडन्त हुन लागेको हो ।

केन्द्रीय नेतादेखि नवयुवासम्मले प्रतिस्पर्धा गर्दै छन् भने चर्चित कलाकार तथा पेशाकर्मीहरू पनि महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिएका छन्। उनीहरूले यसका लागि मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरूलाई फोन गर्ने, एसएमएस गर्ने, सामाजिक सञ्जालमा प्रचार सामग्री राख्नेलगायतका कार्य गरेर प्रचारप्रसार गरिरहेका छन् ।

पालिका सभापति र प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। पदेन सदस्यलाई मतदान गर्ने अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार भने नहुने कांग्रेसको विधानमा उल्लेख छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ। यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन। यस्तै, कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ।

ती १८ जनामध्ये दुवै प्रदेश सभा क्षेत्रबाट एक महिला र दुई खुलासहित तीन–तीन जनाका दरले क्षेत्र ‘क’ र ‘ख’ बाट कुल ६ जना निर्वाचित हुनेछन्। त्यसैगरी खुलातर्फबाट एक महिलासहित चार जना, युवामध्येबाट एक महिलासहित २ जना, जनसंख्याका आधारमा समानुपातिकतर्फबाट ६ जना निर्वाचित हुनेछन् भने अन्य ६ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था छ।

क्षेत्रीय अधिवेशनबाटै चयन हुने महाधिवेशन प्रतिनिधिमा भने महिला ४, खुला १०, एक महिलासहित तीन युवा, जनसंख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन्  साथै श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसंख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जना चयन हुने व्यवस्था गरिएको छ। यसरी हरेक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना संघीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।

संघीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ। महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक र जनसंख्याका आधारमा बाँडफाँट हुने समानुपातिकतर्फ चार गरी कुल १२ जना छनोट हुनेछन्।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवै तर्फका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ। प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुनेछन्। कोषाध्यक्ष भने प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा एक जनालाई मनोनयन गर्ने व्यवस्था छ।

प्रदेश सभा क्षेत्रीय कार्यसमिति सदस्यका रूपमा २ महिला, एक दलित, एक युवा, तीन खुला र जनसंख्याका आधारमा समानुपातिकतर्फबाट ६ जना निर्वाचित हुनेछन्। यसबाहेक थप ७ जनालाई कार्यसमितिमा मनोनयन गर्न पाइनेछ।

सोही अधिवेशनले प्रदेश प्रतिनिधिका रूपमा दुई महिला, ८ खुला, एक महिलासहित दुई युवा, जनसंख्याका आधारमा हुने समानुपातिकतर्फ ६ जना चयन गर्नेछ। त्यसैगरी पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जनालाई प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ।

कांग्रेसको क्षेत्रीय अधिवेशन सकिएपछि केन्द्रीय महाधिवेशन हुनेछ। केन्द्रीय महाधिवेशन असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ। 

 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १०:१५

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय