पर्यटकीय देश थाइल्यान्डको राजधानी बैङ्ककमा बिहीबारदेखि लगातार परेको मुसलधारे वर्षाका कारण भीषण बाढी आएपछि प्रशासकले सहरका ५० वटै जिल्लालाई विपद् क्षेत्र घोषणा गरेका छन्। करिब ३०० मिलिमिटरसम्म परेको पानीका कारण सडक, नहर र बस्तीहरू जलमग्न बनेपछि स्थानीय बासिन्दा आफ्नो घर र व्यापार व्यवसाय छाडेर सुरक्षित स्थानतर्फ लाग्न बाध्य भएका छन्।
बैङ्ककका गभर्नर चाडचार्ट सिट्टिपन्तले बाढीको जोखिम उच्च रहेको बताउँदै नहर किनारमा बस्ने बासिन्दालाई आफ्ना सवारी साधन उच्च भागमा राख्न र गम्भीर बिरामीहरूलाई तत्काल अस्पताल सर्न आग्रह गरेका छन्।
बाढीका कारण खोला तथा नहरहरू ओभरफ्लो भएर सडक र घरहरूमा पानी पसेपछि जनजीवन पूर्ण रूपमा ठप्प बनेको छ। स्थानीय बासिन्दाहरूका अनुसार कम्मरम्म पानी जमेकाले पसल तथा व्यवसाय बन्द गरेर बस्नुपरेको छ। केही क्षेत्रमा सन् २०११ मा ५ सयभन्दा बढी मानिसको ज्यान जाने गरी आएको विनाशकारी बाढीभन्दा पनि भयावह स्थिति सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
उपत्यकाका नहरहरू पानीले भरिएकाले पम्पमार्फत पानी बाहिर फाल्न समेत कठिन भइरहेको छ। थप वर्षाको पूर्वानुमान गरिएकाले स्थानीय निकायहरूलाई आपत्कालीन राहत र उद्धार कार्यमा जुट्न पूर्ण अधिकार दिइएको छ।
See less
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।