काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी र पहिरोले यतिबेला सिङ्गो देशको जनजीवन अस्तव्यस्त बनाएको छ ।
केवल भौतिक संरचना र मानवीय क्षति गराएको छैन, देशको आर्थिक प्रणाली र दैनिक आपूर्ति व्यवस्थालाई नै गम्भीर असर पुर्याएको छ । काठमाडौं उपत्यकामा यसको प्रत्यक्ष र गम्भीर असर परेको छ । बाढी र पहिरोले उपत्यकालाई देशका अन्य भागसँग जोड्ने प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा यहाँको बजारमा तरकारी, फलफूल र दैनिक उपभोग्य खाद्यान्नको मूल्यले आकाश छोएको छ
विपत्तिको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव र कालोबजारी मौलाउँदा सर्वसाधारण नागरिकलाई बिहान–बेलुकाको भान्सा कसरी चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
काठमाडौं उपत्यका आफैंमा उत्पादनमुखी भन्दा पनि उपभोगमुखी सहर हो । यहाँ खपत हुने अधिकांश तरकारी, फलफूल, चामल, दाल, तेल र अन्य खाद्यान्न देशका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट आयात हुने गर्छ । धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, चितवनलगायत मध्यपहाडी र तराईका जिल्लाहरू उपत्यकाका लागि तरकारी र खाद्यान्नका प्रमुख स्रोत हुन् ।
तर, लगातारको झरीले त्रिभुवन राजमार्गबाहेक लगभग काठमाडौँसँग जोड्ने बाटो बन्द छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग र मदन भण्डारी राजमार्गलगायतका प्रमुख सडक खण्डहरू ठाउँ–ठाउँमा भत्किएका छन् । कतै ठाउँमा त सडक नै बगेको छ भने कतै ढिस्को खसेर महिनौँसम्म बाटो खुल्न नसक्ने अवस्था सिर्जना भएको छ ।
सरकारी तथ्यांकमै ह्वात्तै बढ्यो तरकारीको भाउ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आधिकारिक तथ्यांक अनुसार, २०८३ साल भदौ १० गतेको तुलनामा असोज ११ गतेसम्म अधिकांश दैनिक उपभोग्य कृषि उपजको मूल्यमा अस्वाभाविक वृद्धि भएको देखिएको छ । चाडबाडको समय नजिकिँदै गर्दा भान्सामा नभई नहुने तरकारीहरूको मूल्यमा सयदेखि साढे दुई सय प्रतिशतसम्म उछाल आएपछि सर्वसाधारण उपभोक्ता नराम्ररी मारमा परेका छन् ।
एक महिनाअघि प्रतिकिलो जम्मा ४७ रुपैयाँ ५० पैसामा पाइने हरियो खुर्सानीको मूल्य २७१.९४ प्रतिशतले बढेर १७६ रुपैयाँ ६७ पैसा पुगेको छ । त्यस्तै ५५ रुपैयाँ किलोमा पाइने लाम्चो हरियो खुर्सानी २०९ प्रतिशतले बढेर १७० रुपैयाँ पुगेको छ भने माछे हरियो खुर्सानी र भेडे खुर्सानीको मूल्य पनि १०० प्रतिशतभन्दा बढीले वृद्धि भई क्रमशः ९१ रुपैयाँ ६७ पैसा र ९५ रुपैयाँ कायम भएको छ ।
हरेक तरकारीमा प्रयोग हुने गोलभेडाको मूल्य पनि उच्च बनेको छ । भदौ १० मा प्रतिकिलो ३८ रुपैयाँ ७५ पैसा रहेको लोकल सानो गोलभेडा ६७.७४ प्रतिशतले महँगिएर ६५ रुपैयाँ पुगेको छ । त्यसैगरी, नेपाली ठुलो गोलभेडा ४३.४७ प्रतिशतले बढेर ७६ रुपैयाँबाट ११० रुपैयाँ पुगेको छ भने टनेल र भारतीय सानो गोलभेडाको मूल्यमा पनि क्रमशः ४६ र ६३ प्रतिशतले वृद्धि भएको छ ।
भान्साका अन्य आधारभूत तरकारीहरू जस्तै आलु र प्याजको मूल्यमा पनि उकालो लाग्ने क्रम रोकिएको छैन । भारतीय र रातो आलुको मूल्य १६ देखि ३० प्रतिशतसम्मले बढेको छ भने सुकेको प्याजको मूल्य पनि प्रतिकिलो ९५ रुपैयाँ पुगेको छ ।
दैनिक प्रयोगमा आउने अन्य हरियो तरकारीहरूको भाउ पनि एक महिनामै दोब्बरभन्दा बढीले आकासिएको छ ।
२० रुपैयाँ किलोमा पाइने लाम्चो भन्टा १२५ प्रतिशतले बढेर ४५ रुपैयाँ पुगेको छ भने ३० रुपैयाँको सेतो हाइब्रिड मूला ११६ प्रतिशतले बढेर ६५ रुपैयाँ कायम भएको छ । ३२ रुपैयाँ ५० पैसा पर्ने लोकल बन्दाको भाउ १०० प्रतिशतले बढेर ६५ रुपैयाँ पुगेको छ । गाजर, भिण्डी, तितो करेला, ब्रोकाउली, र पालङ्गो सागजस्ता तरकारीहरूको मूल्यमा पनि ५० देखि ८० प्रतिशतसम्मको भारी वृद्धि देखिएको छ । अझ विदेशी तरकारी पार्सलेको मूल्य त प्रतिकिलो १७०० बाट ५२ प्रतिशतले बढेर २६०० रुपैयाँ पुगेको तथ्यांकले देखाउँछ ।
खाद्यान्नमा पनि बढ्यो मूल्य, सरकारको प्रभावकारी छैन अनुगमन
समस्या तरकारी र चाँडो बिग्रने कृषि उपजमा मात्र सीमित छैन । दाल, चामल, खानेतेल, चिउरा, पिठोजस्ता लामो समयसम्म भण्डारण गर्न सकिने खाद्यान्नको मूल्यमा पनि अचाक्ली वृद्धि भएको छ । थोक व्यापारीहरूले सडक अवरुद्ध भएको र नयाँ मालसामान आउन नसकेको बहाना बनाउँदै पुरानै मौज्दात (स्टक) मा रहेको खाद्यान्नमा मनपरी मूल्य बढाएका छन् । यातायातको भाडा बढेको, बाटोमा जोखिम मोलेर सामान ल्याउनुपरेको र आपूर्ति कम भएका कारण मूल्य बढाउनु परेको व्यापारीहरूको तर्क छ ।
तर उपभोक्ता अधिकारकर्मीहरू भने यसलाई सरासर कालोबजारी र विपत्तिको समयमा गरिएको आर्थिक अपराध मान्छन् । ‘गोदाममा महिनौँसम्म पुग्ने चामल र दालको स्टक हुँदाहुँदै पनि रातारात प्रतिबोरा सयौँ रुपैयाँ बढाउनु भनेको नाफाखोर प्रवृत्तिको पराकाष्ठा हो । बिचौलिया र केही सीमित ठुला व्यापारीहरूको सिन्डिकेटले बजारलाई आफ्नो नियन्त्रणमा लिएका छन्, जसका कारण थोक बजारदेखि खुद्रा पसलसम्म पुग्दा एउटै सामानको मूल्यमा भारी अन्तर देखिन थालेको छ,’ उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ भन्छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका नाममा केही खुद्रा पसलहरूमा गएर जरिवाना तिराउने जस्ता कर्मकाण्डी काम मात्र गरिरहेको उपभोक्ताहरूको गुनासो छ । सङ्कटको मूल जरो थोक बिक्रेता, ठुला गोदामहरू र बिचौलियाहरूको जालोमा लुकेको छ, तर त्यहाँसम्म सरकारको अनुगमन संयन्त्र पुग्न सकेको छैन वा पुग्न चाहँदैन । सीमित जनशक्ति र कारण बजार अनुगमन प्रभावकारी हुन नसकेको स्वयं सरकारी अधिकारीहरू नै स्विकार्छन् ।
चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा देखिएको यो महँगीले झन मारमा पार्ने देखिएको छ । चाडपर्वको समयमा सामान्यतया घरमा मीठोमसिनो खाने र राम्रो लाउने चलन हुन्छ । तर, दाल, चामल र सामान्य तरकारीकै मूल्य छोइसक्नु नभएपछि निम्न र मध्यमवर्गीय परिवारले चाडपर्व कसरी मनाउने भन्ने चिन्ता हुन थालेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन जस्ता सरकारी स्वामित्वका संस्थाहरूले सुपथ मूल्यका पसलहरू सञ्चालन त गरेका छन्, तर ती पसलहरूको पहुँच र क्षमता सीमित भएका कारण आम उपभोक्ताले त्यसबाट खासै राहत महसुस गर्न सकेका छैनन् । सरकारी पसलहरूमा सीमित सामग्री मात्र पाइने र त्यहाँ पनि लामो लाइन बस्नुपर्ने झन्झटका कारण धेरै नागरिकहरू महँगोमै भए पनि निजी पसलबाटै सामान किन्न बाध्य छन् ।
किसानले पनि पाएका छैनन् मूल्य, छैन कोल्ड स्टोर
यो विपत्तिको कथा सहरका उपभोक्ताको पीडामा मात्र सीमित छैन । सहरमा तरकारी र खाद्यान्नको मूल्य आकाशिरहँदा गाउँमा पसिना बगाउने किसानको अवस्था झनै हृदयविदारक छ । धादिङ, काभ्रे र मकवानपुरका किसानहरूले महिनौं लगाएर फलाएको तरकारी बारीमै कुहिएर गइरहेको छ ।
बाटो बन्द भएका कारण उनीहरूले आफ्नो उत्पादन सहरसम्म ल्याउन पाएका छैनन् । सहरमा उपभोक्ताले एक किलो हरियो खुर्सानीको मुल्य २ सय रुपैयाँभन्दा बढी तिरिरहँदा, गाउँमा किसानले त्यही खुर्सानी ५० रुपैयाँमा पनि बेच्न पाइरहेका छैनन् । बन्दा, काउली लगाउने कतिपय किसानले त बजारसम्म लैजाने भाडा समेत नउठ्ने देखेपछि आफ्ना उत्पादन गाईवस्तुलाई खुवाउन वा बारीमै जोत्न बाध्य भएका छन् ।
एकातिर सहरमा हाहाकार र महँगी छ भने अर्कोतिर गाउँमा उत्पादन खेर गइरहेको छ । कृषि अर्थशास्त्री समेत रहेका कृषि उद्यमी अभिनाश सिलवाल भन्छन् ‘यसले हाम्रो कृषि बजार व्यवस्थापन, आपूर्ति शृङ्खला र राज्यको पूर्वाधार विकासको दयनीय अवस्थालाई छर्लङ्ग पारेको छ । किसान र उपभोक्ता दुवै मारमा पर्ने तर बीचमा बस्नेले कमाउने यो विकृत प्रणालीले नेपालको अर्थतन्त्रलाई भित्रभित्रै खोक्रो बनाइरहेको छ,’ उनी भन्छन् ।
कोल्ड स्टोर (शीत भण्डार) र गोदामहरूको अभावले पनि यो समस्यालाई विकराल बनाएको छ । यदि काठमाडौं उपत्यका र यस वरपरका क्षेत्रमा पर्याप्त मात्रामा शीत भण्डारहरू हुन्थे भने, बाटो बन्द भएको समयमा पनि केही हप्तासम्मका लागि तरकारी र फलफूलको आपूर्ति सहज बनाउन सकिन्थ्यो ।
‘किसानहरूले उत्पादन गरेको तरकारी बिग्रन नदिन गाउँ–गाउँमा पनि यस्ता भण्डारण केन्द्रहरू स्थापना गर्न राज्यले लगानी गर्नुपर्छ । यसले एकातिर विपत्तिको समयमा सहरमा हुने अभावलाई रोक्छ भने अर्कोतिर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने ग्यारेन्टी गर्छ,’ सिलवाल भन्छन् ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।