ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

डोरोहस्क — युक्रेनसँगको सीमा जोडिएको पोल्याण्डको डोरोहस्क समुदायमा बिहीबार एकै दिन तीनपटक मोबाइल फोनमा सतर्क गराउने सन्देशहरू बजिरहेका थिए । सन्देशमा युक्रेनतर्फबाट रुसी ड्रोन वा क्षेप्यास्त्र सीमा पार गरेर आउन सक्ने चेतावनी दिइएको थियो । स्थानीय बासिन्दाहरूलाई आवश्यक परेको खण्डमा सुरक्षित आश्रय लिन आग्रह गरिएको थियो ।

युक्रेनी सिमानासँग जोडिएको यस क्षेत्रमा ३ पटकसम्म सीमा पार गर्ने यातायात सेवा बन्द गरियो । एकपटक त कर्मचारीहरूलाई समेत सुरक्षित स्थानमा सारियो ।

बिहीबार एसोसिएटेड प्रेस (एपी) को टोलीले यस गाउँको भ्रमण गर्ने क्रममा खतरा र अवरोधहरू प्रत्यक्ष अनुभव गरेको हो । रुस–युक्रेनबीच युद्ध जारी रहेको साढे चार वर्ष भइसकेको छ । पोल्याण्डको पूर्वी सिमानामा यसले नयाँ खतरा निम्त्याएको छ ।

गत सेप्टेम्बर १३ को बिहान डोरोहस्क–याहोडिन सीमास्थित युक्रेनी भूभागमा दुईवटा रुसी ड्रोनहरू विस्फोट भएपछि यहाँ त्रास थप बढेको छ । सो विस्फोटको ठूलो आवाज सीमापारीको डोरोहस्क गाउँमा प्रस्टै सुनिएको थियो ।

डोरोहस्कका मेयर भोइचेक सावा भन्छन्, ‘हाम्रो गाउँमा त्यो रात विस्फोटको आवाज प्रस्टै सुनिएको हुनाले मानिसहरूमा नयाँ किसिमको छटपटी र डर पैदा भएको छ । यसअघि हामीले कहिल्यै यस्तो अनुभव गरेका थिएनौं, र पहिलो पटक यहाँ साइरनहरू बजेका हुन् ।’

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले गत सेप्टेम्बर १७ मा आफ्नो देशमा रुसले आक्रमण गर्नसक्ने जानकारी संसद्लाई गराएका थिए । युक्रेनलाई सहयोग गर्ने पोल्यान्डसहितका युरोपेली देशहरूमाथि रुसले ड्रोन वा रकेटमार्फत हाइब्रिड आक्रमणको योजना बनाइरहेको उनको चेतावनी थियो ।

युक्रेनसँग सिमाना जोडिएका क्षेत्रहरू र त्यसमा पनि पोल्यान्डका सीमा क्षेत्रहरु आगामी महिनाहरूमा विशेष रूपमा संवेदनशील हुने उनले बताएका थिए । अन्य युरोपेली नेताहरू र गुप्तचर निकायहरूले पनि यस्तै चेतावनी दिइरहेका छन् ।

डोरोहस्कका बासिन्दाहरूले रुस–युक्रेन युद्धलाई नजिकबाट नियालिरहेका छन् । सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता युक्रेनी शरणार्थीहरू यही सिमानाबाट भागेर पोल्यान्ड आएका आउने गरेका छन् । गत जुलाईमा युक्रेन लक्षित एउटा रुसी क्षेप्यास्त्र पोल्याण्डको पूर्वी आकाश पार गर्दै ९० किलोमिटरभित्र खसेको थियो । 

तर, हालैका ड्रोन आक्रमणहरू र थप गम्भीर घटनाहरूको सामना गर्न पोल्यान्ड सरकारले जनतालाई सतर्क गराइरहेको छ । यस प्रयासले स्थानीय बासिन्दाहरूमा नयाँ खालको त्रास र अन्योल सिर्जना गरेको छ ।

डोरोहस्कका बालबालिकालाई पनि हवाइ खतराको साइरन बज्दा सुरक्षित स्थानमा सार्ने गरिएको छ । डोरोहस्क विद्यालयका निर्देशक जारोस्लाभ वोइचिकीका अनुसार विद्यालयका कर्मचारी र मनोविद्हरुले विद्यार्थीहरूलाई कसरी सुरक्षित रहने भन्ने विषयमा व्यवहारिक परामर्श दिन थालेका छन् । बिहीबार साइरन बजेपछि एकपटक यस विद्यालयलाई खाली गराइएको वोइचिकीले बताए । उनले विद्यालय भवनको भुइँतलामा रहेको ती दुई कोठाहरू देखाए, जहाँ बालबालिकाले विद्यार्थीहरुले त्यसबेला आश्रय लिएका थिए । विस्फोट भएको खण्डमा सिसाका टुक्राहरूले कसैलाई चोट नपुगोस् भनेर झ्यालहरुमा काठ लगाइएको थियो ।

निर्देशकले भने, ‘ठूला बालबालिकाहरूमा कुनै पनि समस्या देखिएन, उनीहरूमा कुनै विशेष किसिमको भावुकता देखिएको छैन । साना बालबालिकाहरूमा भने केही मात्रामा डर महसुस गर्न सकिन्थ्यो, तर शिक्षकहरूले उनीहरूको राम्रो हेरचाह गरेका थिए ।’नजिकैका गाउँहरूबाट डोरोहस्कमा पढ्न आउने सयौं बालबालिकाको सुरक्षाको जिम्मेवारी लिएका वोइचिकीको स्वर यी अनुभव सुनाउँदा हल्का काँपिरहेको थियो ।

पोल्याण्डका रक्षामन्त्री व्लादिसल कोसिनियाक कामिशले सेप्टेम्बर २२ मा डोरोहस्क–याहोडिन सीमा नाकाको भ्रमण गर्दै सीमा क्षेत्रमा नयाँ हवाई रक्षा संयन्त्रहरू ल्याइने घोषणा गरे । उनले डोरोहस्कस्थित युक्रेनसँग सिमाना जोडिएका दुईवटा पोलिश क्षेत्रहरूमा प्याट्रियोटलगायत एयर डिफेन्स प्रणाली बलियो बनाए घोषणा गरे । 

सरकारले  चेतावनी दिए पनि संभावित आक्रमणबाट बच्न स्थानीय समुदायले थोरैमात्र तयारी गर्न पाएका छन् । डोरोहस्कबाट ९० किलोमिटर पश्चिममा पर्ने लुब्लिन सहरका बासिन्दा सुरक्षा प्रमुख मिरोस्लाभ सोकालले भने, ‘हामी खतराविरुद्ध सुरक्षाका उपायहरु अबलम्बन गर्ने सवालमा सुरुवाती चरणमै छौं । गएको ४० वर्षमा हामीले शान्तिपूर्ण रूपमा बाँच्न पाउने आशा राखेका थियौं । त्यसैले यस्तो तयारी गर्नुपर्ने अवस्था नै थिएन ।’ 

डोरोहस्कका मेयर सावाका अनुसार यस गाउँका मानिसहरू प्रायः बेसमेन्टसहितका व्यक्तिगत घरहरूमा बस्छन् । हवाइ खतराको स्थितिमा उनीहरु लुक्ने ठाउँ बेसमेन्ट नै हो। उनले भने, ‘यदि मेरो आफ्नै बेसमेन्ट छैन भने पनि मेरो छिमेकीको होला ।’तर, डोरोहस्कको सडकमा भेटिएका मानिसहरू भने वास्तविक आक्रमणको स्थितिमा अपनाउने उपायहरूलाई लिएर थप अन्योलमा देखिएका छन् ।

८० वर्षकी इरेना पोपेकले भनिन्, ‘अहिलेका लागि म राती राम्रै सुत्छु, त्यसैले यसलाई खासै महसुस गर्दिनँ । तर, मेरो बेसमेन्ट जलमग्न छ । त्यहीकारण त्यहाँ लुक्न संभव छैन । आक्रमण भइहालेमा मसँग लुक्ने कुनै ठाउँ छैन, कुरा यति नै हो ।’स्थानीय पसलकी कर्मचारी रेनाटा पास्तुस्जोले चिन्तित भएर बस्नुभन्दा सकारात्मक सोच्नु आवश्यक रहेको बताइन् । उनले साइरनको चेतावनीका बाबजुद पनि आफूले काम निरन्तर जारी राखेको बताइन् ।

अर्का बासिन्दा क्रिस्टोफ रुल्काले चेतावनीहरू बारम्बार आउन थालेकोमा गुनासो गर्दै यसले मानिसहरूलाई थप अन्योलमा पारेको बताए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय