काठमाडौँ — अमेरिकाको न्यू ह्याम्पसायर राज्यमा बसोबास गर्ने नेपाली समुदायले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १ करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।न्यू ह्याम्पसायर नेपाली समाज (एनएचएनसी) को अगुवाइमा सञ्चालित राहत संकलन अभियानबाट १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।
समाजका अध्यक्ष लाक्पा शेर्पाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएका परराष्ट्रमन्त्री शिशिर खनाललाई न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित समारोहमा उक्त रकम हस्तान्तरण गरेको हो ।
समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि सहयोग गर्ने नेपाली अमेरिकी समुदाय, विदेशमा बसोबास गर्ने नेपाली तथा नेपालप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद दिए । यस्तो सहयोगले सरकारको राहत तथा पुनःस्थापना अभियानमा महत्त्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै उनले सहयोग रकम जिम्मेवार र उचित ढंगले परिचालन गरिने बताए ।
समाजका अध्यक्ष लाक्पा शेर्पाले अभियानमा सहयोग गर्ने व्यक्ति, परिवार, व्यवसाय, संघसंस्था तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्दै बाढीपीडित परिवारले यथाशीघ्र राहत र पुनःस्थापनाको अवसर पाउनुपर्नेमा जोड दिए ।
समाजका उपाध्यक्ष माधव गुरुङले संस्थागत र समन्वयात्मक प्रयासमार्फत सहयोग संकलन गर्दा पीडितलाई आर्थिक सहयोगसँगै समुदायको एकता र ऐक्यबद्धताको सन्देशसमेत पुग्ने विश्वासका साथ अभियान सुरु गरिएको बताए ।भोटेकोशी बाढीको घटनालगत्तै न्यू ह्याम्पसायर नेपाली समाजले ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरी राहत तथा पुनःस्थापनाका लागि सहयोग संकलन अभियान सुरु गरेको थियो ।
अभियानअन्तर्गत न्यू ह्याम्पसायर दिदीबहिनी ग्रुपले हरितालिका तीज कार्यक्रमका लागि संकलन गरेको करिब १५ हजार अमेरिकी डलर बाढीपीडितका लागि प्रदान गरेको थियो । नेपालमा विपत्ति र शोकको अवस्था रहेकाले ऐक्यबद्धता जनाउँदै समूहले तीज कार्यक्रमसमेत स्थगित गरेको थियो ।
राहत संकलन अभियानमा विभिन्न व्यवसाय, परिवार तथा सामुदायिक संघसंस्थाले सहयोग गरेका थिए । समिट न्यू ह्याम्पसायर एलएलसी, सनसाइन कम्युनिटी केयर इन्क, भिजन अफ इन्डिपेन्डेन्स एलएलसी, होम फर बटरफ्लाइज एलएलसी, हिमालयन फेमिली अफ न्यू ह्याम्पसायर तथा गुरुङ समाज न्यू ह्याम्पसायरलगायत संस्था तथा समूहले अभियानमा भूमिका खेलेका थिए ।
बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै न्यू ह्याम्पसायर नेपाली समाजले अक्टोबर १० का लागि तय गरिएको ‘दसैं साँझ’ समेत रद्द गरेको जनाएको छ ।कार्यक्रममा परराष्ट्र सचिव अमृतकुमार राई, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी, समाजका महासचिव प्रभात भट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई तथा गैरआवासीय नेपाली संघ, न्यू ह्याम्पसायर च्याप्टरका अध्यक्ष रोशन गुरुङलगायत समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति थियो ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।