विराटनगर — उद्योगको उत्पादन लागत घटाउँदै प्रतिस्पर्धात्मक क्षमता बढाउने नीतिगत व्यवस्था गर्न उद्योग संगठन मोरङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग आग्रह गरेको छ। औद्योगिक उत्पादन र उत्पादकत्व बढाउन लागत न्यूनीकरण, पूर्वाधार सुधार र निर्यात प्रवर्द्धनमा सरकारले तत्काल पहल गर्नुपर्ने संगठनको भनाइ छ।
संगठनको कार्यसमिति र मन्त्री साहबीच भएको छलफलमा अध्यक्ष नन्दकिशोर राठीले सुनसरी–मोरङ औद्योगिक करिडोरसहित समग्र औद्योगिक क्षेत्रका समस्या र सुधारका उपायबारे सुझाव दिएका हुन्। उनले उद्योगको लागत घटाउन विद्युत्, पूर्वाधार, निर्यात र औद्योगिक पूर्वाधारसँग सम्बन्धित विषयमा नीतिगत सुधार आवश्यक रहेको बताए।
औद्योगिक प्रयोजनमा खपत हुने विद्युत्मा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) पुनरावलोकन गरी हटाउनुपर्ने माग संगठनले अघि सारेको छ। विद्युत् उत्पादन प्रक्रियाको आधारभूत आवश्यकता भएकाले त्यसमा थपिने करले विशेषगरी निर्यातमूलक, साना तथा मझौला, खाद्य तथा औषधि उद्योगको उत्पादन लागत बढाउने अध्यक्ष राठीले बताए।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा सुख्खायाममा देखिने विद्युत् अवरोध, लो–भोल्टेज र ट्रिपिङको समस्या समाधान गरी नियमित र गुणस्तरीय आपूर्ति सुनिश्चित गर्न पनि संगठनले माग गरेको छ।
भारतले नेपाली जुटजन्य वस्तुमा आगामी अक्टोबरदेखि हालको तुलनामा चार गुणासम्म एन्टी–डम्पिङ शुल्क बढाउने विषयमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै संगठनले त्यसलाई रोक्न कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ। भारतीय बजारमा नेपाली जुटजन्य वस्तुको प्रतिस्पर्धात्मक क्षमता प्रभावित हुनसक्ने भन्दै संगठनले निर्यात संरक्षणका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो।
त्यस्तै, भारतले कच्चा तथा तयारी खाने तेलको आयातमा महसुल घटाएपछि नेपालबाट निर्यात हुँदै आएको प्रशोधित तेलमा पर्नसक्ने प्रभावप्रति पनि संगठनले सरकारको ध्यानाकर्षण गराएको छ। नेपाली तेल उद्योगमा भएको लगानी, रोजगारी र निर्यात जोगाउन वैकल्पिक नीतिगत उपाय अवलम्बन गर्नुपर्ने उसको भनाइ छ।
लामो समयदेखि निर्माण अलपत्र रहेको कटहरी–विराटनगर हुलाकी सडकको करिब ६ किलोमिटर खण्ड तत्काल सम्पन्न गर्न पनि संगठनले आग्रह गरेको छ। सुनसरीको अमडुवामा प्रस्तावित विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको प्रक्रिया पनि शीघ्र अघि बढाउनुपर्ने माग संगठनले राखेको छ। औद्योगिक विकाससँग प्रत्यक्ष जोडिएका विषयमा आवश्यक समन्वय, निर्देशन र नीतिगत निर्णय गरी समयबद्ध रूपमा कार्यान्वयन गर्न मन्त्री साहसमक्ष आग्रह गरिएको संगठनले जनाएको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।