हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर ‘विश्व मुटु दिवस’ मनाइन्छ।
अस्वस्थ जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ। नसर्ने रोगहरूमध्ये हरेक वर्ष करिब २ करोड मानिसको हृदयाघात तथा मुटुसम्बन्धी समस्याका कारण मृत्यु हुने गर्छ।
- पछिल्लो समय नेपालमा मुटु रोगीहरूको सङ्ख्या बर्सेनि बढ्दै जानुको मुख्य कारण के–के हुन् ?
नेपालमा मुटु रोगीहरूको सङ्ख्या बढ्नुका दुई मुख्य कारण छन्। पहिलो, मानिसहरूको जीवनशैली र खानपानमा आएको परिवर्तन हो; जसले गर्दा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र हृदयाघातजस्ता समस्याहरू बढिरहेका छन्। दोस्रो, स्वास्थ्य संस्था, क्लिनिक, स्वास्थ्य शिविर तथा विदेश जाने क्रममा गरिने स्वास्थ्य परीक्षणका कारण पहिले लक्षण नदेखिएका (एसिम्प्टोम्याटिक) मुटु रोगीहरूको पनि समयमै पहिचान (डाइग्नोसिस) हुन थालेको छ।
- मुटुलाई स्वस्थ राख्न र मुटुसम्बन्धी रोगहरूबाट बच्न कस्ता उपायहरू अपनाउनुपर्छ ?
मुटुलाई स्वस्थ राख्नका लागि मद्यपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ। खानपानमा नुन, चिल्लो, बोसोयुक्त र तारेका खानेकुराको मात्रा घटाउनुपर्छ। त्यसै गरी, नियमित व्यायाम गर्ने, शरीरको तौल सन्तुलनमा राख्ने र मुटु रोगका अन्य कारक तत्त्वहरू छन् भने समयमै तिनको उपचार गराउनुपर्छ।
- जन्मजात तथा बाथ मुटु रोगको रोकथामका लागि के–कस्ता कुरामा ध्यान दिनुपर्छ ?
गर्भवती अवस्थामा जथाभाबी र अनावश्यक औषधिको सेवन नगर्ने तथा हानिकारक विकिरणबाट बच्ने गर्नाले जन्मजात मुटु रोगको जोखिम कम गर्न सकिन्छ। साथै, गर्भधारणको २० हप्तामा गर्भाशयकै शिशुको मुटुको परीक्षण (स्क्रिनिङ) गर्न सकिन्छ। बाथ मुटु रोग प्रायः घाँटीको सङ्क्रमण (टन्सिलाइटिस/फ्यारिङ्गाइटिस) को सही उपचार नहुँदा हुने भएकाले घाँटीको सङ्क्रमण हुँदा समयमै सही उपचार गराउनुपर्छ।
- मुटु रोगका प्रारम्भिक लक्षणहरू के–कस्ता हुन्छन् र तिनको पहिचान कसरी गर्ने ?
मुटु रोगका प्रमुख लक्षणहरूमा मुटु ढुकढुक हुनु, सास फेर्न गाह्रो हुनु र छाती दुख्नु आदि पर्छन्। तर, धेरैजसो अवस्थामा सुरुमा कुनै पनि लक्षण नदेखिन सक्छ। त्यसैले लक्षणहरू देखा पर्ने पर्खाइमा नबसी समय–समयमा मुटुको नियमित स्वास्थ्य परीक्षण गराइरहनु नै मुटु रोग समयमै पत्ता लगाउने उत्तम उपाय हो।
- पहिले उमेर ढल्केका मानिसमा मात्र देखिने हृदयाघात अहिले युवा अवस्थामै देखिनुको कारण के हो ?
युवा अवस्थामै हृदयाघात देखिनुमा केही हदसम्म वंशाणुगत (जेनेटिक) कारणहरू जिम्मेवार हुन्छन्। तर यसको प्रमुख कारण भनेको युवाहरूमा बिग्रँदो जीवनशैली, अस्वस्थकर तथा चिल्लो–बोसोयुक्त खानपान र विशेषगरी चुरोट तथा सुर्तीजन्य पदार्थको अत्यधिक सेवन नै हो।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।