मोरक्कोका राजा मोहम्मद छैटौंले सेप्टेम्बर २३ मा भएको संसदीय निर्वाचनमा आफ्नो उदार-मध्यमार्गी दललाई पहिलो स्थानमा पुर्याउन सफल फातिमा एजाहरा एल मन्सूरीलाई मंगलबार देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राजदरबारद्वारा जारी एक विज्ञप्तिमा राजाले एल मन्सूरीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेको उल्लेख छ।
रोयटर्सका अनुसार एल मन्सूरीको ‘अथेन्टिसिटी एन्ड मोडर्निटी पार्टी’को स्थापना सन् २००८ मा राजाका एक सल्लाहकारद्वारा गरिएको थियो । यसले सामाजिक आधुनिकीकरण तथा धर्मनिरपेक्ष विचारहरूको वकालत गर्दै स्लामिक दल ‘जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’को विकल्पको रूपमा आफ्नो स्थान बनाएको हो ।
मोरक्को एक संवैधानिक राजतन्त्र भएको देश हो- जहाँ राजासँग परराष्ट्र नीति, रक्षा र अन्य प्रमुख मन्त्रालयहरूमा व्यापक अधिकार निहित हुन्छ। संविधानअनुसार राजाले प्रतिनिधिसभामा सबैभन्दा धेरै सिट जिट्ने राजनीतिक दलबाट सरकारको प्रमुख (प्रधानमन्त्री) नियुक्त गर्ने व्यवस्था छ।
निर्वाचनको केही हप्ताअघि मोरक्कोका फुटबल महासंघका प्रमुख तथा दुई पटक सरकारको बजेट व्यवस्थापन सम्हालिसकेका फोउजी लेक्जालाई पार्टीमा भित्र्याएपछि पीएएमले अभूतपूर्व सफलता हासिल गर्दै शीर्ष स्थान ओगटेको छ। यसअघिको गठबन्धनमा दोस्रो ठूलो दल रहेको पीएएमले यसपटक निर्वाचनमा ९७ सिट जितेको छ।त्यसपछि निवर्तमान सरकारका अन्य साझेदारहरू- उदार-मध्यमार्गी ‘नेसनल रल्ली अफ इन्डिपेन्डेन्ट्स’ले ६६ सिट र रूढीवादी राष्ट्रवादी ‘इस्तिकलाल’ले ६५ सिट हासिल गरेका छन्।
५४ सिट जितेको पीजेडीका नेता तथा पूर्वप्रधानमन्त्री अब्देलइलाह बेनकिरानेले आफ्नो दल विपक्षी बेन्चमा बस्ने बताएका छन् भने अन्य तीन वटा वामपन्थी दलले पनि केही सिट जितेका छन्। निर्वाचनमा जनताको सहभागिता भने अघिल्लो चुनावको करिब ५० प्रतिशतबाट घटेर ३८ प्रतिशतमा सीमित भएको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।