ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी बिहीबार स्वदेश फर्किन लागेका छन् ।

उनको ठाउँमा को आउने हो भन्नेबारे हालसम्म टुंगो लागेको छैन । यद्यपि श्रीवास्तवको ठाउँमा तत्कालका लागि कार्यवाहक राजदूतका रूपमा दूतावासका मिसन उपप्रमुख डा. राकेश पाण्डेले काम गर्नेछन् । पाण्डेले आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

२०८२ मंसिरको अन्तिम साता हाइकिङका क्रममा श्रीवास्तवलाई हर्ट अट्याक भएपछि उनी उपचारमा रहेको बेला पनि पाण्डे कार्यवाहक राजदूत भएका थिए । अहिले पनि उनी नै कार्यवाहक राजदूतका रूपमा आफ्नो कार्यभार सम्हालेका छन् ।

तर  नयाँ राजदूत को आउने भन्नेबारे अझै टुंगो नलागेको हो । यसअघि राजदूतको कार्यकाल सकिनै लाग्दा भारतले नयाँ राजदूतको नाम परराष्ट्र मन्त्रालयलाई पठाइसकेको हुन्थ्यो । यसपटक हालसम्म नाम टुंगो लगाएको छैन ।

भारतीय जनता पार्टी निकट एक नेताले भने, ‘विगतमा विदेश मन्त्रालयमा नेपाल धेरै जनाको रोजाइमा पथ्र्यो, नेपाल जानका लागि तछाडमछाड गर्थे, सोर्स लगाउँथे तर यसपटक कसैले रुचि देखाइरहेका छैनन् ।’

नेपालको राजनीति संक्रमणकालीन अवस्थामा छ । भूराजनीतिक अवस्था तरल अवस्थामा छ । विपद्का घटनाहरू पनि दोहोरिरहेका छन् । जुनसुकै बेला जे पनि हुनसक्ने अवस्थामा नेपाल रहेको कारण राजदूत भएर नेपाल आउन विगतको जस्तो रुचि नदेखाएको कारण ढिलाइ भइरहेको ती नेताले बताए ।

भारतीय विदेश मन्त्रालयले पनि अहिले त्यसमा खासै गृहकार्य सुरु गरेको छैन । दूतावास खाली भएपछि व्यक्तिहरूको चर्चा हुनु स्वाभाविक हो तर को जाने भन्ने विषयमा स्पष्ट रूपमा कसैको नाम बाहिर आएको छैन ।

भारतले यसपटक बंगलादेशजस्तै नेपालमा पनि राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने तयारी गरिरहेको छ । त्यसले पनि ढिलो भएको हुनसक्छ ।

नेपाल–भारत मामिलाका जानकार डा. निहार नायक (भारत)ले भने, ‘नेपालमा पोलिटिकलतर्फबाट राजदूत पठाउने हो कि भन्ने यहाँ चर्चा छ तर कसलाई पठाउने भन्नेबारे कसैको नाम सामुन्ने आएको छैन ।’

नेपाल जाने भारतीय राजदूतको बारेमा नेपालमा जति चर्चा हुन्छ, त्यसको खासै चर्चा भारतमा हुँदैन । खासै मतलब पनि हुँदैन । तर पद खाली भएपछि सामान्य चर्चा हुनु स्वाभाविक हो । नेपालमा राजनीतिक व्यक्तिलाई पठाउने कि विदेश मन्त्रालयका अधिकारीलाई पठाउने विषय पनि चर्चामा छ ।

भारतका लागि नेपाल निकै रणनीतिक ठाउँ हो, यहाँ जो पायो त्यसैलाई पठाउँदैन । बरु केही समय दूतावासका डीसीएम नै कार्यवाहक भएर काम गर्छन् तर हतारमा कसैलाई पठाउने छैन । तत्कालै पठाउने कुरा भएको भए भारतीय विदेश मन्त्रालयका अतिरिक्त विदेश सचिव मुनु महावरको नाम सिफारिस भइसकेको हुन्थ्यो । उनको नाममा कसैलाई समस्या छैन ।

सबैभन्दा एक नम्बरमा महावरको नाम चर्चामा छ । विदेश मन्त्रालयमा नर्थ डिभिजन (चीन, नेपाल, भुटान) प्रमुखसमेत रहेका महावरको सम्भावना धेरै छ । उनी यसअघि पटकपटक नेपाल आएर उच्चस्तरीय भेटघाट गरेर फर्किसकेका छन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सुशीला कार्की प्रधानमन्त्री रहेको बेला पनि उनी २०८२ मंसिरको अन्तिम साता नेपाल आएका थिए । उनले तत्कालीन प्रधानमन्त्री कार्कीसहित अन्य उच्चस्तरीय भेटघाट गरेका थिए । जेनजी आन्दोलनअघि पनि उनी नेपाल आएका थिए ।

बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि उनी नेपाल भ्रमणमा आएका थिए । गत असारको अन्तिम साता नेपाल आएका उनी प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न पाएनन् । तर अन्य उच्चस्तरीय भेटघाट गरेर फर्केका थिए ।

सन् १९९६ ब्याचका आईएफएस महावरले सन् २००१ देखि २००५ सम्म विदेश मन्त्रालयमा नेपाल डेस्कमा काम गरिसकेका छन् । उनले माल्दिभ्समा भारतका लागि राजदूत भएर पनि काम गरिसकेका छन् । उनी नेपालमा राजदूत भएर आउने सम्भावना निकै रहेको स्रोतहरूले दाबी गरेका छन् ।

नेपालको राजदूत कसलाई पठाउने भन्ने कुरामा भारतीय प्रधानमन्त्रीको समेत चासोको विषय भएकाले कसको नाम टुंगो लगाएर सुटुक्क नेपाललाई नाम पठाउँछन् त्यतिकै भन्ने अवस्था नरहेको भारतीय विदेश मन्त्रालय निकट एक अधिकारीले बताए ।

‘कसलाई पठाउनेबारे भारतीय विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक अरू कसैलाई थाहा छैन,’ ती अधिकारीले भने ।

त्यस्तै, राजनीतिक नियुक्ति गर्ने हो भने भाजपा बिहारका नेता

रविशंकर प्रसादको पनि चर्चा छ । उनी लोकसभाका सांसद हुन् । उनी पटकपटक मन्त्री पनि भइसकेका छन् । उनले नेपालका लागि राजदूतमा इच्छा देखाएका छन् । त्यसबाहेक भाजपा निकट अन्य केही व्यक्ति, पूर्वसेना प्रमुख, अवकाशप्राप्त उच्च तहका कर्मचारीहरूको नाम पनि चर्चामा छ ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीमा रहेको परराष्ट्र मन्त्रालयमा पनि राजदूत को आउने भन्ने चर्चा भइरहेको छ । तयारी तीव्र रूपमा चलिरहेको बेला राजदूतले आफ्नो कार्यकाल पूरा गरेर फर्केका छन् । नयाँ को आउने हो, अहिलेसम्म टुंगो नलागेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

नोभेम्बर महिनामा प्रधानमन्त्री बालेनको भारत भ्रमण हुने गरी तयारी भइरहेको छ । त्यसअघि नै भारतले नाम पठाउनेमा आफूहरू आशावादी रहेको ती अधिकारीले बताए ।

भारतका लागि नेपाली राजदूतमा निश्चलनाथ पाण्डेको नाम सिफारिस भएको छ । संसदीय समितिमा छलफलको क्रममा छ । प्रधानमन्त्री बालेनको भ्रमणको मिति तय हुनुअघि पाण्डे भारतको राजदूत भएर जाने गरी काम अगाडि बढेको छ ।

नेपालजस्तो भारतमा राजदूत नियुक्त गर्ने झन्झटिलो प्रक्रिया छैन । भारतले राजदूतका लागि आवेदन माग गरेको थियो । आएका आवेदनलाई सर्टलिस्ट गर्ने काम भयो । लामो समय छलफल गरेर मन्त्रिपरिषद्ले नाम सिफारिस गरेपछि अहिले संसदीय समितिमा छलफल भइरहेको छ । त्यो नामलाई रुजु गरेपछि राजदूतमा नियुक्त हुने छ ।

नेपालमा जस्तो परराष्ट्र मन्त्रालयले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएर मात्र राजदूतका लागि अन्य प्रक्रिया सुरु हुँदैन । भारतबाट सिधै नाम नै सिफारिस हुन्छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय