काठमाडौँ । रसुवामा आएको बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको गल्छी–बेत्रावती सडकखण्डको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । नयाँ ट्रयाक खुलेसँगै अवरुद्ध सडकमा सर्वसाधारण र सवारीसाधनको आवतजावत पुनः सुरु भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवालाई जोड्ने प्रमुख मार्गका रूपमा रहेको यस सडकखण्डमा ट्रयाक खुलेर यातायात सञ्चालनमा आएको जानकारी दिएका छन् । यद्यपि, ट्रयाक खुले पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने अझै बाँकी रहेको उनले बताए ।हाल सडक मर्मत र निर्माणको काम निरन्तर भइरहेको छ । यस्तो अवस्थामा बाक्लो सवारीसाधनको चापले निर्माण कार्य प्रभावित भइरहेको भन्दै मन्त्री लम्सालले छिटो काम सम्पन्न गर्नका लागि आवश्यक सहजीकरण गरिदिन सम्बद्ध सबै पक्ष र सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यसैबिच, सडकको ट्रयाक खोल्ने काम सकिएलगत्तै यस खण्डमा बेलिब्रिज जडानको प्रक्रिया पनि द्रुत गतिमा अघि बढाइएको छ । मन्त्री लम्सालका अनुसार नुवाकोटतर्फको बेलिब्रिजको फाउन्डेसन (जग) निर्माण पूरा भइसकेको छ भने नेपाली सेनाको सहयोगमा पुल जडानको तयारी सुरु गरिएको छ ।
त्यसैगरी, रसुवातर्फको फाउन्डेसन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यलाई थप तीव्रता दिँदै आगामी एक साताभित्रै बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढीले सडक र पुलका संरचनामा ठुलो क्षति पुर्याएपछि रसुवा आवतजावत नराम्ररी प्रभावित हुँदै आएको थियो । अहिले ट्रयाक खुलेर यातायात सञ्चालनमा केही सहजता आएको र बेलिब्रिज जडानपछि यो सडकमार्ग पूर्ण रूपमा व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।